असार ३, २०७८
काठमाडौं : सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन्।
त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्। यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ। कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६५ मत पाएको बताएका छन्। एकजना सांसदले दिन्न भन्ने पक्षमा मतदान गरेका छन्।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन्।
प्रतिक्रिया दिनुहोस