२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

तातोपानी नाका महिना दिनदेखि ठप्प

  • २०७८ श्रावण ३, आईतबार मा प्रकाशित ३ साल अघि
  • साउन ३, २०७८

    चौतारा : भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ ।

    सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि ठप्प नाका सञ्चालनमा आउन सकेको छैन ।

    तातोपानी नाकाको भौतिक पूर्वाधार व्यवस्थित नबनाइँदा दिनहुँ बिग्रँदै गएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

    ‘यहाँको सडक दिनभर बनायो, बेलुकीको पानीले भासिइहाल्छ, लिपिङ पुल झनै जीर्ण बन्दै छ । नाकाको व्यथालाई सरकारले कहिले देख्ला ?’ उनले भने ।

    बढ्दो कोरोनाकालमा पनि ‘आइसोलेट एरिया’ सहित मालवाहक सवारी सञ्चालनमा आएको तातोपानी नाका अघिल्लो बर्खाझैं भौतिक अवस्थाकै कारण रोकिने अवस्थामा पुगेको उनको भनाइ छ ।

    चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिने गरेका छन् । तसर्थ कामदारले बोकेर कन्टेनरका व्यापारिक सामग्री पुलवारिको बजारसम्म ओसार्छन् । त्यहाँ अड्किएका केही कन्टेनर छन्, तिनैबाट कोदारी बजारसम्म सामग्री ल्याएर थुपारेपछि माथिल्लो बाटो हुँदै कामदारले तातोपानी बजारछेउसम्म ल्याउने गरेका छन् ।

    २५ देखि ३० जनाको कामदारको टोलीले दिनहुँ जोखिम मोलेर जीर्ण पुल र कोदारी सडक हुँदै कन्टेनरसम्म सामान ओसार्ने गरेका छन् । एक कन्टेनरको सामग्री ओसार्न कामदारलाई तीनदेखि चार घण्टा लाग्छ । त्यसबाट कामदारको टोलीले एक कन्टेनरबाट २५ देखि ३० हजार रुपैयाँ लिन्छन् ।

    यसअघि कोदारी र तातोपानी बजार जोड्ने कोदारी खण्डको ३५ मिटर सडक भासिएपछि केही समय मजदुरबाट बोकेर कोदारी बजारसम्म ल्याइएका सामग्री कोदारी स्वरोजगार युवा समाजले चलाएको तुइनबाट तातोपानी बजारको कन्टेनरसम्म ओसारिन्थ्यो ।

    ‘अहिले मजदुरकै भरमा सामग्री ओसार्ने काम भइरहेको छ,’ भोटेकोसी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले भने । सडक र पुलकै कारण नाका असुरक्षित हुँदा चीनको खासा हुँदै दिनहुँ भित्रिने कन्टेनर र सामग्री शून्यमा पुग्न लागेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले गुनासो गरे । ‘नाका व्यवस्थित नहुँदा २० वर्षदेखि चल्दै आएका एक हजार चार सय कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए,’ उनले भने ।

    सडक र पुलकै कारण साता दिनअघि खासा आइपुगेका अत्यधिक लोडका सामग्री चीन पक्षले फर्काएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

    ‘दिनहुँ दर्जनौं कन्टेनर भित्रिन्थे, अहिले कहिलेकाहीँ केही मात्रै आउँछन्, त्यो पनि लिपिङ बजारमै अड्किएका छन्,’ उनले भने । कान्तिपूरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस