साउन ३, २०७८
चौतारा : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम् कृयाशील सदस्यता छानबिन समिति सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमणमा संलग्नहरुलाई कारबाही थाल्न निर्देशन दिएको छ।
भदौमा हुने भनिएको १४ औँ महाधिवेशन तयारीका लागि शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घिमिरेमाथि कुटपिटमा संलग्नलाईघ तीन दिनभित्र कारबाहीको टुंगो लगाउन निर्देशन दिएको हो।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा वरिष्ठ रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको छलफलले घिमिरेलाई कुटपिट गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसहितमाथि कारबाही थाल्न अनुशासन समितिलाई शनिबार निर्देशन दिएको हो।
‘घिमिरेमाथि भएको आक्रमणबारे सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका ब्यक्तिहरुसँग २४ घण्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारबाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छु’ कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले भने।
सदस्यतासम्बन्धी कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर गरिने अराजक, अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य हुने पनि कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस