साउन १, २०७८
चौतारा : नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बिहीबार काmठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस्, शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस्।’
उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे।
तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदै पनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे। उनले भने, ‘हामीसँग जनमत थियो। तर, अदालतको परमादेशबाट हामीले सरकार अरुलाई सुम्पिनुपर्यो।’
एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरूबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको पनि सुनाए। उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन भोट हाल्नेहरूलाई बाटो खुला रहेको पनि सुनाए।
देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि उनले सुनाए। देउवाले घोषणा गर्ने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने भन्दै उनले भने, ‘हामी अरूजस्तो चुनावबाट भाग्नेबाला छैनौं। भाग लिन्छौं।’
प्रतिक्रिया दिनुहोस