२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सरकारका प्रवक्ता बस्नेतलाई स्पष्टिकरण माग

Thumbnail
  • २०७४ कार्तिक १५, बुधबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    १५ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ ।

    मन्त्री बस्नेत सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा १ को प्रत्यक्ष उम्मेदवार हुन् । उनले केहि दिन अघि निर्वाचन आचारसंहिता विपरित आफ्नै निर्वाचन क्षेत्र अन्र्तगतको सुनकोशी गाउँपालिका– ६ को वडा कार्यालय उद्घाटन गरेका थिए । लगत्तै कार्तिक १४ गते लिसंखुपाखर गाउँपालिकामा पर्ने ठूलोपाखरमा सडक उद्घाटन गरे ।

    निर्वाचन आचारसंहिता लागु भएपछि उम्मेदवारले कुनै पनि योजनाको शिलन्यास गर्न, उद्घाटन गर्न, अध्ययन, सर्वेक्षण गर्न वा सो को लागि अनुदान दिने कार्य गर्न नपाईने आचारसंहितामा उल्लेख छ । आचारसंहिता विपरित सरकारको प्रवक्तालेनै उद्घाटन एवम् शिलन्यास गरेका कारण बस्नेतलाई स्पष्टिकरण माग गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकका प्रमुख दिपक खनालले जानकारी दिए ।

    मूख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टिकरण माग गर्दै जिल्ला निर्वाचन कार्यालय मार्फत सञ्चारमन्त्रालयमा पत्र पठाएको छ । मन्त्री बस्नेतले स्पष्टिकरण पत्र लिन नमानेका कारण मन्त्रालयमानै पत्र पठाईएको निर्वाचन कार्यालयले जनाएको हो । बस्नेत र उनका प्रतिनिधिले पत्र बुझ्न नमानेपछि हुलाक मार्फत पत्र पठाईएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका प्रमुख विजयकुमार कार्कीले बताए ।

    आचारसंहिता विपरित कार्यक्रम हुन लागेको जानकारी पाएपछि सो कार्यक्रम नगर्न मूख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको थियो । ‘हामीले सचेत गराउँदा पनि कार्यक्रममा मन्त्री उपस्थित भएपछि हामीले कानुनी प्रकृया सुरु गरेका हौं’, मूख्य निर्वाचन अधिकृत खनालले भने ।आचारसंहिता विपरित कार्यक्रम हुन लागेको जानकारी पाएपछि सो कार्यक्रम नगर्न मूख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको थियो । ‘हामीले सचेत गराउँदा पनि कार्यक्रममा मन्त्री उपस्थित भएपछि हामीले कानुनी प्रकृया सुरु गरेका हौं’, मूख्य निर्वाचन अधिकृत खनालले भने ।

    ‘हामीले पहिलो चरणमा आचारसंहिता पालना गर्न अनुरोध गछौं’, प्रमुख खनालले भने– ‘अनुरोधलाई नमाने जो सुकै भएपनि कानुनी प्रकृयामा हामी जान्छौं ।’ आचारसंहितालाई पटक पटक उल्लंघन गरे आफूहरु थप ‘एक्सन’मा जान बाध्य हुने बताउँदै त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द समेत हुनसक्ने उनले बताए ।

    आचारसंहिता देखाउनको लागि मात्रै नभएको धारणा राख्दै अधिकृत खनालले कार्यान्वयनको लागि आफूहरु प्रतिबद्ध रहेको दाबी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस