असार ६, २०७८
चाैतारा : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेललाई ज्ञापनपत्र बुझाएकाे छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी मार्फत् पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले ज्ञापनपत्र बुझाएका हुन्।
बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने प्रयास गरेकोमा माहासंघले सो आपत्ति जनाउदै ज्ञापनपत्र बुझाएको हो ।
यो सन्दर्भमा सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन समेत माहासंघले माग गरेको छ । प्रदेश सरकारको सो निर्णय फिर्ता नभए महासंघ आन्दोलनमा उत्रन समेत चेतावनी दिएकाे छ।
देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती प्रदेशभित्र रहेको वक्तव्य उल्लेख छ।
नेपाल पत्रकार महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र रहेका छन्।
‘प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेको छ । तर, ठिक त्यसको बिपरित बागमती प्रदेश सरकारले प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरेको छ’ ज्ञापनपत्रमा भनिएकाे छ।
एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको महासंघकाे निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस