२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

  • २०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित ३ साल अघि
  • जेठ ३१, २०७८

    चाैतारा : विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास इकाई समन्वय समितिमा पठाउनुपर्ने र इकाइले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

    भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने उनले बताए ।  

    ‘विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिएका हौं,’ उनले भने ।

    एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

    प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

    मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोके अनुसार भएको/नभएको रुजु गरी प्रमाणित गर्नेछ । यसरी प्राप्त भएको मूल्यांकन नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास इकाई समन्वय समितिलाई बुझाउनेछ । समितिले विद्यालयले बुझाएको मूल्यांकन नतिजा रुजु एवं प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस