जेठ २९, २०७८
चाैतारा : प्रधानमन्त्री केपी शर्मा ओलीनिकट बागमती प्रदेशका पर्यटन मन्त्री सरेस नेपाल बागमती प्रदेशको एकताले केन्द्रमा पनि सकारात्मक सन्देश दिएको बताएका छन्।
बागमती प्रदेशकाे नीति तथा कार्यक्रम पारित गर्न असन्तुष्ट खेमा माधवकुमार नेपाल समुहले पनि साथ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनलेे भने, ‘अहिले हामी बजेट निर्माण प्रक्रियामा छौँ। नीति तथा कार्यक्रम बहुमतको साथ पास भयो। एमालेका सबै एकमत हुनुभयो। यसअघिको छलफलमा सबैको सुझाव आएको थियो। त्यहीअनुसार ल्याएपछि बहुमतका साथ अघि बढ्यो।’
पार्टी केन्द्रीय कार्यालयमा दुवै गुटको नेताहरूको बैठकपछि नै बागमतीमा एकताबद्ध भएर अघि बढ्ने बाटो कोरिएको उनको भनाइ छ।
‘पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षको बैठक बसेको थियो। त्यहाँ १० जनाको कार्यदल गठन गरेको थियो। त्यसभित्र पनि ४ जनाको अर्को कार्यदल बनाएका थियौँ’ उनले भने, ‘सोही कार्यदलमार्फत पार्टी एकताबद्ध रुपमा अघि बढ्न सम्भव भयो।’
केन्द्रको विवादमा पार्टी अध्यक्ष ओलीले ल्याएको ६ सूत्रीय एकताको प्रस्तावको आधारमा असन्तुष्ट पक्ष चल्नुपर्ने उनको तर्क छ।
‘अदालतले पनि पार्टी एकताको आशयको निर्णय दिएको छ। त्यसलाई सम्मान गर्नुपर्छ। तर, कसैललाई चित्त नबुझे पुनरावलोकनमा जान सक्छ’, नेपालले भने, ‘पार्टीलाई विभाजन गर्न नहुने भनेर तल्लो तहबाट समेत दबाब भइरहेको छ।’
विगतलाई केलाउँदा पनि पार्टी विभाजन गरेर जानेहरू सफल नभएको उनी बताउँछन्।
नेपाल भन्छन्, ‘पार्टी विभाजन गरेर जानु भनेको विस्तारै सकिनु नै हो। त्यो विगतले देखाएको छ। भनेको जनतालाई धोका दिएको प्रस्ट हुन्छ। प्रदेशमा जस्तै केन्द्रमा पनि एकता प्रक्रिया अघि बढ्छ। एकताको पक्षमा नउभिनेहरू सकिने भएकाले त्यसले पार्टीमा कुनै असर गर्दैन।’
प्रतिक्रिया दिनुहोस