२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

याङ्ग्री र लार्के खोलाको पानी ल्याउने काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जेठ २७, २०७८

    चाैतारा : प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्के खोलाको पानीका लागि तत्काल काम सुरु गर्न निर्देशन दिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै तत्काल कार्य सुरु गर्न निर्देशन दिएका हुन।  

    हाल मेलम्चीबाट न्यूनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ। यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड  लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ।

    यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने उनको भनाई छ। 

    प्रधानमन्त्री ओलीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिए। राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा  मेलम्चीको पानी वितरण थालिएको थियो।  

    प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ। मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न  करिब १० दिन, परिक्षणका लागि केही दिन र  पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने  छ। 

    त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिए।

    ‘वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रै सँग चलाउन सकिन्छ’, बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस