जेठ १७, २०७८
चाैतारा : नेकपा एमाले भित्रको विवाद तल्लो तहसम्म छताछुल्ल हुन थालेकाे छ। केन्द्र शिर्ष नेताहरूबीचकाे विवादले पार्टी विभाजनकाे अन्तिम बिन्दुमा पुगेपछि तल्लो तहसम्म त्यसका प्रभाव पर्न थालेकाे हाे।
एमाले संस्थापन पक्षमा खुलेर लागेपछि गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले वडा नम्बर ७ का अध्यक्ष कार्केल लामालाई दुर्व्यवहार गर्दै कार्यपालिका बैठकबाट निकालेकाे अाराेप लगाएकाे छ।
गाउँपालिका अध्यक्ष क्षेत्रीले वडाध्यक्ष लामालाई कारबाहीको प्रस्ताव ल्याएको र त्यस प्रस्तावमा कार्यपालिका सदस्यहरुले असहमति जनाएका थिए ।
कार्यपालिका बैठकमा ७ का वडाध्यक्ष माथी कारबाही प्रस्तावसहित दुर्व्यवहार भएपछि ८ का वडाध्यक्ष चरी बहादुर तामाङ र २ का वडाध्यक्ष छविलाल न्यौपाने पनि बैठक छाडेर निस्किएका थिए ।
गाउँपालिका अध्यक्ष क्षेत्री र वडाध्यक्ष लामा नेकपा एमालेबाट निर्वाचित भएका थिए । अध्यक्ष क्षेत्रीका विश्वासपात्र मानिएका लामा संस्थापन पक्षमा उभिएपछि उनीहरु बीच दूरी बढेको हो ।
यस्तै, कार्यपालिका बैठकमा वडाअध्यक्षमाथि दुर्व्यवहार भएको विषयमा एमालेको गाउँ कमिटीले विज्ञप्ति निकाले र भर्त्सना गरेको छ ।
प्रतिक्रिया दिनुहोस