बैशाख २३, २०७८
चाैतारा : वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।
विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्।
यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए। उनले ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फूलहरू’, ‘गोरेटो त्यो गाउँको’, ‘नमान लाज यसरी’ लगायतका दर्जनौं कालजयी गीत गाएका छन्।
२००३ सालमा स्थापित काठमाडौंको विश्व निकेतन स्कुलका पहिलो विद्यार्थी थिए यिनी । त्यसबेला नाटककार बालकृष्ण समले लेखिदिएको बन्दना गीत गाउन लगाइयो कक्षा १ मा भर्ना भएका पहिलो विद्यार्थी गणेशलाई ।
त्यस स्कुलका हेडमास्टर थिए प्रेमबहादुर श्रेष्ठ । उनले गणेश प्रधानको स्वरबाट मोहित भएर नाम परिवर्तन गरे अनि प्रेमध्वज राखिदिए पछि उनी प्रेमध्वज बने सधैका लागि । तिनै विद्यार्थीपछि नेपालका प्रसिद्ध गायक बने- प्रेमध्वज । उनी वि सं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका थिए।
प्रतिक्रिया दिनुहोस