२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

‘सञ्चारकर्मीले बिषम परिस्थितीमा नागरिकलाई सचेत गराउनुपर्छ’

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २०, २०७८

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको बिषम परिस्थितीमा नागरिकलाई सचेत गराउनु सञ्चारकर्मीको जिम्मेवारी भएको बताएका छन्।

    विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुुभकामना व्यक्त गर्दछु । संविधान सभामार्फत् जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात हामी यसको व्यवहारिक अभ्यासका क्रममा छौं।’

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष भएको बताएका छन्। नेपालमा लोकतन्त्रको विकास, बिस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन्।

    प्राप्त अधिकारहरुको उपयोगका लागि सञ्चार जगत सधैंजस्तै निर्भीकतापूर्वक लागिरहने छ भन्ने विश्वास लिएका छन्।

    उनले भनेका छन्, ‘कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भएपनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्याहरुलाई निराकरण गरिएको छ। संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं सँगै रहेको विश्वास दिलाउन चाहन्छु।’

    यो बर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा हामी कोभिड–१९ को दोस्रो लहरसँग जुधिरहेका छौं । अग्रपंक्तिमा रहेर काम गर्ने दर्जनौं सञ्चारकर्मीहरुमा कोभिड संक्रमण भएको यसबाट सञ्चारकर्मीहरुको निधन समेत भएको खबर पाएको छुु।

    सञ्चारकर्मीहरुलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरुलाई पनि सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी रहेको बताएका छन्।

    विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य सतर्कता अपनाएर सञ्चार जगतले उदाहरणीय भूमिका खेल्ने छ भन्ने विश्वास लिएको उल्लेख गरेका छन्।

    सञ्चार जगतलाई कोभिड–१९ बाट सिर्जित महामारीबाट नागरिकलाई सूचित गरी सुरक्षित बनाउने जिम्मेवारी पनि थपिएको बताए। सञ्चारकर्मीहरुमा ऊर्जा र हौसलाका साथ सरोकारवाला र आम नागरिकलाई झकझकाउन निरन्तर लागिरहने उत्प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस