२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

भुकम्पपछिको पुनर्निर्माण : एक स्थानीय तह, एक एकीकृत बस्ती

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १२, २०७८

    चौतारा : सिन्धुपाल्चोकमा निर्माण गर्ने भनिएका २९ वटा एकीकृत बस्तीमध्ये २५ वटा पुनर्निर्माण भइसकेका छन् । एकीकृत बस्ती निर्माणले सिन्धुपाल्चोकलाई आकर्षणको केन्द्रबिन्दु बनाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले जानकारी दिए।

    एक गाउँपालिकामा एउटा एकीकृत बस्ती’ योजनाअनुरूप जिल्लाका तीन नगरपालिकादेखि नौ गाउँपालिकामा भूकम्प प्रतिरोधी, सुन्दर, बलिया र सुविधासम्पन्न एकीकृत बस्ती बनेका छन् ।

    विभिन्न एकीकृत बस्तीसहित गैरसरकारी संस्थाको सहयोगमा झन्डै पाँच हजारवटा भूकम्पपीडितको घर बनिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।

    भोटेकोसी गाउँपालिका–१, लिस्तिकोटको सेभुङ एकीकृत बस्ती, बाह्रबिसे नगरपालिका–७, घुम्थाङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका–३ को हेबुङ एकीकृत बस्ती र मेलम्ची नगरपालिका–१० को नाम्दोलिङ एकीकृत बस्ती मात्रै निर्माण सम्पन्न हुन बाँकी छन् ।

    ह्योल्मोभूमि हेलम्बु गाउँपालिका–१, तेम्बाथानमा जनहित ग्रामीण सेवा समितिले ४४ घरको ह्योल्मो एकीकृत बस्ती पुनर्निर्माण गरेको छ । यो बस्ती निर्माणमा सहयोग गरेको अक्सफामकै साझेदारीमा बाह्रबिसे नगरपालिका–३, भोटेकोसी गाउँपालिकाको त्याङथली र चौतारा साङ्गाचोकगढी नगरपालिकाको सेलाङ थाक्ले, भदौरेलगायतका स्थानमा एकीकृत बस्ती ठडाएको छ ।

    इन्द्रावती गाउँपालिकाको बाडेगाउँमा ६३ माझी परिवारको एकीकृत बस्ती अक्सफाम, महिला आत्मनिर्भर केन्द्रको आर्थिक प्राविधिक र इन्द्रावती गाउँपालिकाको साझेदारीमा बनेको छ ।

    हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा मेलम्ची नगरपालिकाको गिरानचौरमा ६५ परिवारका लागि एकीकृत बस्ती पुनर्निर्माण भएको छ ।

    अभिनेत्री श्वेता खड्काको पहलमा चौतारा साँगाचोकगढी नगरपालिका–१३, भीमटारको झ्याडीटोलमा एकीकृत माझी बस्ती ठड्याइएको छ । झन्डै ९० हजार ९०४ लाभग्राहीमध्ये ८३ हजारले घर निर्माण गरिसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस