२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

विस्थापितको पीडा : साल फेरियो तर, अवस्था अझै उस्तै

  • २०७८ बैशाख ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ११, २०७८

    चौतारा : हुरीबताससँगै पानी दर्कंदा ३५ वर्षीया ठूलीमाया तामाङको पालभित्र भिजाउन बाँकी केही थिएन । हिलाम्मे भुइँमा बिहीबार गुन्द्री ओछ्याउँदै जुगल गाउँपालिका–२ लिदी लामागाउँकी तामाङले जुगल १ बाँसखर्कको टेन्टभित्र सात महिने छोरो च्यापेर पानीलाई सराप्दै थिइन् ।

    ‘अघिल्लो रात हुरी यत्ति लाग्यो कि पाल उडायो, बल्लतल्ल पाल टाँगेर बसियो, फेरि पानीले दुःख दियो,’ उनले भनिन् ।

    दुई दिनअघि रातमा हुरी र वर्षात् एकैपल्ट चल्यो । बेजोड हावाहुरीले एक दर्जन पाललाई उडाएपछि सबै जना एउटै पालमा बसेर रात काटेको तामाङले सुनाइन् । ‘लिदीबाट पहिरोले खेद्यो, यहाँ हावाहुरी वर्षातले खेद्दै छ, अब हामी कहाँ जाने रु’, उनले प्रश्न गरिन् ।

    गत वर्षामा लिदीको पहिरोबाट विस्थापित एक सय ७२ परिवारका लागि बाँसखर्कस्थित सामुदायिक वन क्षेत्रमा ९८ वटा पाल लस्करै टागेर अस्थायी बसोबासको व्यवस्था गरिएको छ । हावाहुरी र पानीले पालभित्र बस्न नसकिने भएपछि केही विस्थापित परिवार लिदी फर्केर टहरा हालेका छन् ।

    एक सय ७२ परिवारका केही भने यही टहरा र पालमा छन् । ‘त्यही पहिरोमा धेरै आफन्त गुमाए, घरजग्गा सबै बग्यो, त्यही पीडाले लिदी जान मन लाग्दैन, तर यहाँ बस्न पनि लडाइँ लड्नुजस्तै छ,’ जुगल–२ लिदी लामागाउँका ५७ वर्षीय रेशम दोङले भने । उनले जनप्रतिनिधिले पहिरोलगत्तै दुई महिनामा सुरक्षित बासको व्यवस्था गर्ने आश्वासन दिएर पनि केही नगरेको दुखेसो गरे । ‘राति पाल समातेर काट्नुपर्छ, कहिले सुत्न पाउनु र ?, पहिरोले ठूलो सराप दिएर गएझैं अनुभव भएको छ,’ उनले भने ।

    उस्तै सास्ती बेहोरिरहेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङ नागपुजेका रघु श्रेष्ठलाई वर्षात र हुरीको वेग देख्दा डर लाग्ने गरेको छ । ‘वर्षातले धाँजा फाटेको जमिन बढ्दै गएर पहिरो गयो र यस्तो अवस्था भयो,’ उनले भने, ‘पानी रोकिए पनि यो पालमा केही सहज हुन्थ्यो ।’

    जम्बु पहिरोमा सर्वस्व गुमाएका २० भन्दा बढी विस्थापित परिवार जम्बु क्षेत्र र केही पर अझै टेन्ट र पालमै छन् । ‘सक्नेले टहरा हाले, घर बनाए । हामी नसक्ने यही पालमा हावाबतास र वर्षात सहेर बसेका छौं,’ बाह्रबिसे–५ गाती जम्बुकी ३६ वर्षीया सुन्तली तामाङले भनिन् ।

    नप्रतिनिधिले संस्थामार्फत पाएको टेन्ट र केही खाद्यान्नको मात्रै व्यवस्था गरेर छोडिदिएको उनले गुनासो गरिन् ।

    गत बर्खामा र अघिल्लो वर्ष बाढीपहिरोबाट विस्थापित भएका परिवारको समस्या यथावत् छ । घटना भएयता जुगल गाउँपालिका र बाह्रबिसे नगरका जनप्रतिनिधिले भने सुरक्षित बासको लागि पहल गरिरहेको बताउँदै आएका छन् ।

    जिल्लाभर बाढी र पहिरोले झन्डै एक हजार ७ सय परिवार विस्थापित भएको अनुमान छ । ती विस्थापित परिवारको अवस्था पनि उस्तै छ । दुवै स्थानीय तहका जनप्रतिनिधि विस्थापितका लागि गास र बासलगायतको व्यवस्था गरिएको भन्दै चाँडै एकीकृत बस्ती वा सुरक्षित आवासको प्रबन्ध गर्ने दाबी गर्छन् ।

    ‘सुरक्षित बासका लागि प्रबन्ध गर्दै छौं, एकीकृत बस्तीको अवधारणा ल्याएका छौं । त्यसका लागि पहल भइरहेको छ,’ जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने ।

    बाह्रबिसे नगरकी उपमेयर सुशीला पाख्रिनले विस्थापितलाई हालै पाल र खाद्यान्नको व्यवस्था गरेको बताइन् । ‘विस्थापितलाई जीविकोपार्जन र अन्य तालिमको व्यवस्था गरेका छौं, सुरक्षित बासकै लागि लाग्दै छौं,’ उनले भनिन् । कान्तिपुरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस