२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

खाने तेलको भाउ फेरि महँगियो

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ६, २०७८

    चौतारा : बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको हो।

    बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।

    नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ ।

    यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

    सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए। कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाई छ ।

    यता थोक व्यापारीहरू भारतमा खाने तेलको भाउ आकाशिएकाले नेपालका प्रशोधित उद्योगीले नेपाली बजारमा आवश्यक तले भारत पठाउने प्रवृत्तिका कारण अहिले भाउ बढेको बताउँछन् । यता उद्योगी भने भारतमा तेल निर्यात गरेको कुरामा सत्यता नभएको दाबी गर्छन् ।

    गत कात्तिक मङ्सिरमा पनि तेलको भाउ बढेको भन्ने गुनासोका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीलाई महँगो हुनुुको कारण पेस गर्न निर्देशन दिनेदेखि तीन उद्योगीलाई आर्थिक जरिवानासमेत गरेपछि सबै ब्रान्डका तेल प्रतिलिटरमा २० रुपियाँसम्म घटेको थियो ।

    चैतको मध्यसम्म यसअघि घटेकै भाउमा कारोबार भएको तेल पछिल्लो पटक पुनः बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस