२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सुनकोसीको बहाव फर्काएर चरम दोहन तर, सम्बद्ध निकाय नदेखेझैं गर्छन्

  • २०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ३, २०७८

    चौतारा : कोरोना संक्रमण बढ्न थाल्दा लकडाउन भयो । लकडाउन हटेपछि पनि केही महिना संक्रमणको त्रासले मान्छेको चहलपहल भए । त्योबेला दोहन नहुँदा भोटेकोसी, सुनकोसीदेखि मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्र सुनसान थिए ।

    जनजीवन सामान्यतर्फ जसै फर्कियो, खोलाजन्य पदार्थको दोहन पनि पुनः सुरु भयो । स्थानीय तहको ठेक्का कबोल र केही क्रसरको अवैध उत्खननले सुनकोसी नदीकै बहावमा असर परेको छ । यो नदी संसारका ६ हजार नदीनालामध्ये र्‍याफ्टिङमा सातौं उत्कृष्टमा थियो ।

    मनपरी ढुंगागिट्टी र बालुवा उठाउनेहरूले सुनकोसीको प्राकृतिक बहाव फर्काएर छेउपट्टि लगाएका छन् । नदीको बीच भागमै पहाड जसरी ढुंगागिट्टीको थुप्रो लगाउँदै दर्जनौं टिपरमा पालैपालो उठाउने काम भइरहेको छ । नदीमै हालिएका एक्स्काभेटरले निबार्ध बालुवा निकाल्दै छन् । कतै ह्युमपाइप राखेर नदीमाथि दर्जनौं टिपर खोलामै बालुवा छानेर प्याकिङ सकेर मात्रै सडकमा आउँछन् । अरनिको राजमार्गको बन्देउ, चेहेर, सुकुटे हुँदै जुरे क्षेत्रसम्म नदीभर एक्स्काभेटर र टिपरको ताँती दृश्य देख्न पाइन्छ ।

    फाइल फोटो

    जुरे क्षेत्रमा सञ्चालित क्रसर सिन्धु सुनकोसी इन्फा प्रालिले दुई एक्स्काभेटर प्रयोग गरेर बालुवा, गेगरको ड्याम बनाएर कोसीलाई फर्काएर दोहन गरिरहेको स्थानीयले बताएका छन् । ‘यो सबैले देखिरहेकै कुरा हो, तर सबै चुपचाप बसिरहँदा मिलेमतोमा दोहन भइरहेको देखिन्छ,’ एक स्थानीयले भने । बगर हडप्नका लागि हानथापमा जुट्दै दिनरात बालुवा ठेकेदारबीच एक्स्काभेटर लगाउने प्रतिस्पर्धा चल्ने गरेको सुकुटेका रिसोर्ट व्यवसायी बताउँछन् ।

    अवैध उत्खननले बगरको पुरानो स्वरूप बिग्रिएको छ । एक्कासि ठूलो बाढी आए अब वरपरका बस्ती संकटमा पर्ने जोखिम बढेको छ । सुकुटे क्षेत्रभर ६ वटा एक्स्काभेटरले रातभर उत्खनन गर्दै नदीजन्य पदार्थ निकालिरहेका छन् ।

    फाइल फोटो

    बगरमै पाल–टहरा बनाएर बालुवा निकाल्नेको भीड छ । काभ्रे क्षेत्रको जंगलबीच रहेको क्रसरबाट केही पर सुनकोसी नदीमा एक दर्जन टिपरमा दुई एक्स्काभेटर प्रयोग गरेर उत्खनन भइरहेको छ । एक किलोमिटरको दूरीमा एउटा एक्स्काभेटरले नदीको स्वरूपमा दक्खल नपुग्ने गरी दुई मिटरसम्म खन्न पाउने प्रावधान छ । तर, सुनकोसी र इन्द्रावतीमा झन्डै ४ देखि ५ मिटरसम्म गहिरो बालुवा खन्ने काम भएको स्थानीयले बताएका छन् ।

    नदीमा जथाभावी भइरहेको दोहन रोक्न स्थानीयले चौतारा साँगाचोकगढी नगरपालिका, प्रहरी–प्रशासनदेखि जिल्ला समन्वय समितिमा समेत सूचना दिएका छन् । तर सम्बद्ध निकाय देखेको नदेखेझैं बसेको आरोप स्थानीयको छ । ‘जनप्रतिनिधि आफैं एस्क्साभेटर, डोजर मालिक छन् अनि कसले यो बेथिति रोक्ने ?,’ स्थानीय सुरेन्द्र माझीले चिन्ता पोखे । जनप्रतिनिधिका आफन्त बालुवा उत्खननमा संलग्न रहेकाले सबै निकायको मिलेमतोमा हुने गरेको उनले गुनासो गरे ।

    फाइल फोटो

    सुनकोसी नदीमा भइरहेको चरम उत्खननलाई रोक्न जनप्रतिनिधि र स्थानीय प्रशासनदेखि प्रतिबद्धता जनाउँदै आएका छन् । तर, न अनुगमन छ न त खोलामा रोक्न कुनै पनि निकायको टोली पुग्छ । बाह्रबिसेका नगर प्रमुख निमफुन्जो शेर्पाले सामाजिक सञ्जालमार्फत जुरेस्थित सिन्धु सुनकोसी इन्फा प्रालिले कानुनी प्रक्रिया पूरा गरेर वैध तरिकाले नै ढुंगागिट्टी निकालेको दाबी गर्दै आएका छन् ।

    जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने नदीको धार बदलिएको पाइएमा अनुगमन गरेर कानुनी दायरामा ल्याउने बताए । ‘नदीको धारमै असर पारेको भन्ने थाहै थिएन,’ उनले भने, ‘त्यस्तो भएको रहेछ भने कानुनी प्रक्रियामा गइहाल्छौं ।’ कान्तिपुरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस