बैशाख २, २०७८
चाैतारा : बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज (विहीबार) बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रको अवरोधका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
माओवादी केन्द्रका सांसदहरुले प्रदेश सरकारले राष्ट्रिय सरोकारका विषय, प्रदेश सरकारले बिना कार्यविधी, मापदण्ड र पूर्वाधार विना विद्युतीय बस खरिद प्रकृया अघि बढाएको, आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेशलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा विरोध गर्दै बैठक अवरोध गरेका हुन् ।
प्रदेश सरकारलाई विवादमा तानेका यी विषयमा चित्तबुझ्दो जवाफ माग्दै माओवादी केन्द्रका प्रदेश सांसदले प्रदेशसभामा अवरोध पु¥याएका हुन् ।
प्रदेशसभा सचिवालयका अनुसार माओवादी केन्द्रका सांसदले अवरोध गरेका कारण अब कहिले बैठक बस्छ भन्ने अन्यौल भएको जनाएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा नचल्ने बताए ।
‘सांसदहरुले संसदमा उठेर अवरोध खडा गरेपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभए सम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको हो’ खड्काले भने ।
माओवादी केन्द्रका सांसदले प्रदेश सरकारको कामकारवाहीका बारेमा उठाएका सवालबारे भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जवाफ दिने प्रयास गरेपनि माओवादी केन्द्रका सांसदको चित्त बुझेको छैन । उनीहरुले सरकारले जनभावना विपरितका कार्य गर्न नसकेको बताउँदै आएका छन् ।
मन्त्री फुयालले भने प्रदेश सरकारले विद्युतीय बस सञ्चालको लागि आवश्यक पूर्वाधारहरु निर्माणका कार्यलाई निरन्तरता दिइएको बताए । जनताको चाहाना अनुसार नै आफूहरुको काम भइरहेको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस