२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सिन्धुपाल्चोकको सडकमा सधै सास्ती : पानी परे हिलो, नपरे धूलो

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २, २०७८

    चौतारा : बर्खामा हिलाम्मे बन्ने जिल्लाका कच्ची क्षतिग्रस्त सडक महिना दिनयता धुलाम्मे भएपछि स्थानीय निराश छन् । कोदारी राजमार्गसहित जिल्लाका प्रायः सडकको दुरवस्थाका कारण यात्रु सास्ती भोग्य बाध्य छन् ।

    सदरमुकाम चौताराबाट विभिन्न गाउँ जोड्ने ५५ सडक बर्खालगत्तै हिलाम्मे भएकाले बन्द हुन्छन् । गर्मीमा भने ती सडक धुलाम्मे बन्छन् । जिल्लामा २५ सय किलोमिटर ग्रामीण सडकमा स्थानीय तहको अग्रसरतामा पाँच सय किमि ग्राभेल र दुई सय किमि कालोपत्र गरिएको छ ।

    जिल्लाका उत्तरपूर्वी भेगमा नयाँ खुलेका सडक धुलाम्मे बनेको चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतोले स्विकारे । भूकम्प र भोटेकोसीको बाढीले ध्वस्त कोदारी राजमार्ग २६ किमिसहित भोटेकोसी क्षेत्रको लिस्तीकोट, मार्मिङ फुल्पिङकट्टीजस्ता गाउँ जोड्ने सडक धुलाम्मे मात्र छैनन्, जीर्ण पनि छन् ।

    अरनिको राजमार्गकै महभीर, जुरे, बलेफी, सुकुटे, चेहेरेमा अझै सुक्खा पहिरो रोकिएको छैन, यो सडक भएर यात्रा गर्नेहरूले ठूलै जाखिम लिनुपर्ने अवस्था छ ।

    ‘बर्खामा हिलो र पहिरोले दिनहुँ सडक अवरुद्ध हुन्छ, गर्मीमा धूलाले ढाकेर बिरामी पार्छ । सडकमा करोडौं रुपैयाँ बजेट खर्च भएको देखिन्छ तर जान्छ चाहिँ कहाँ ?’ बलेफी गाउँपालिका वडा ४ फुल्पिङकोटका सौगात थापाले भने ।

    जिल्लाको बलेफी–जलबिरे–तेम्बाथान सडकका दर्जनौं खण्डमा अहिले पनि ताल जमेका छन् । कतैतिर सडक धुलाम्मे छ ।

    ‘अरनिको राजमार्गसँग जोडिएका र राजमार्ग क्षेत्रका यी सडक खण्डमा आहिलेसम्म करोडौं रुपैयाँ लगानी भएको छ तैपनि सर्वसाधारणले सधैं सास्ती भोग्नुपरेको छ,’ स्थानीय बुद्ध घलेले भने ।

    कमसल कामले गर्दा गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको स्थानीयको आरोप छ । कान्तिपूरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस