२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बजार क्षेत्रको सर्वसाधारणमा नै छैन स्वास्थ्य चेतनाबारे जानकारी

  • २०७७ चैत्र ३०, सोमबार मा प्रकाशित ३ साल अघि
  • चैत ३०, २०७७

    चौतारा : मेलम्ची बजार क्षेत्रको सर्वसाधारणमा समेत स्वास्थ्य चेतनाबारे जानकारी नभएको पाइएको छ। बजार क्षेत्रको बस्तीमै स्वास्थ्यसम्बन्धी चेतनाको कमी रहेको एक अध्ययनले देखाएको हो।

    घरआँगन, चुलोको सरसफाइदेखि मातृशिशु स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी पर्याप्त जानकारी नभएको पाइएको अध्ययनले देखाएको छ।

    अध्ययनले धूवाँरहित चुलोको कतै प्रयोग नहुँदा श्वासप्रश्वासको समस्या भएको देखाएको छ । मेलम्ची नगरपालिका ११ का दनुवार वस्ती, आरुखर्क, मेलम्ची बजार, बिसमुरे आदि बस्तीका १ सय ८० घरधुरीमा गरिएको सर्वेक्षणमा बालविवाहको दर पनि उच्च देखिएको छ ।

    नेशनल ओपन कलेज, ललितपुरमा जनस्वास्थ्यमा स्नातक गर्दै गरेका विद्यार्थीहरुले सो सर्वेक्षण गरेका हुन् । तेस्रो वर्षमा अध्ययनरत समूह ‘जी’ का विद्यार्थीहरुले आइतबार मेलम्चीमा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम अन्तिम सामुदायिक प्रस्तुतिमा यो तथ्य बताइएको हो ।

    समूहका महेश सुनार, रश्मि राई, टेकसारा चौधरी, मात्रिका सिंह, सुजन कार्कीले सो प्रतिवेदन प्रस्तुत गरेका छन्। यस्तै, प्रस्तुतिमा बुधेश्वर चौधरी, रतिका श्रेष्ठ, पूजा पौडेल र सुनिता अधिकारी पनि सहभागी थिए।

    कार्यक्रममा इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले विद्यार्थीहरुको प्रयासको सराहना गरे।

    प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीका अहेव बद्री सापकोटाले महिला स्वयंसेविकामार्फत स्वास्थ्य चेतनाको काम गरिरहेको भए पनि त्यो पर्याप्त नभएको बताए।

    नगरपालिका तथा वडा तहबाट स्वास्थ्यसम्बन्धी गर्नुपर्ने काम धेरै भएको तर वडा सदस्यलाई कुनै पनि अधिकार नदिँदा काम गर्न नसकेको कार्यवाहक वडाध्यक्ष टीकादत्त धितालले दुखेसो पोखे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस