२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दुई दशकमा ३५ अर्ब रुपैयाँ खर्चेर यसरी बन्यो मेलम्ची खानेपानी आयोजना

  • २०७७ चैत्र २१, शनिबार मा प्रकाशित ३ साल अघि
  • चैत २१, २०७७

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम‍ उद्घाटन गरेकी छन्।

    केही दिन अगाडिदेखि नै काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा परीक्षणको रूपमा उक्त आयोजनाबाट पानी पठाउन थालिएको थियो। यसले राष्ट्रिय गौरवको मेलम्ची आयोजना अब भने फत्ते भएको सर्वसाधारणले पत्याउन थालेका छन्।

    तर खानेपानीको निम्ति वर्षौँदेखि काठमाण्डू उपत्यकावासीले बेहोरेको सङ्कटसँग तुलना गर्ने हो भने मेलम्ची आयोजनालाई सफलभन्दा पनि आयोजना व्यवस्थापनको मापदण्डबाट नाप्दा यसलाई “अनुकरणयोग्य उदाहरण नभएको” मान्ने मानिसहरू पनि छन्।

    Map: Melamchi

    काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई लामो सुरुङमा पठाएर त्यसलाई सुन्दरीजलमा झारिएको छ। सुन्दरीजलमा ठूलो अनि उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका पोखरीमा जम्मा गरेर मेलम्चीको पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरण गरिँदैछ।

    अहिले मेलम्ची खोलाको पानीलाई अस्थायी बाँध बनाएर सुरुङमा पसाइएको छ। स्थायी रूपमा व्यवस्थित पानी पसाउनका निम्ति जारी “हेडवर्क्स” भनिने निर्माणकार्य एक महिनामा सकिने अधिकारीहरूको अपेक्षा छ।

    ‘थप पानी चाँडै’

    राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त समारोहमा बोल्दै मेलम्ची आयोजनाका “परिकल्पनकार” भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गरिन्।

    उनले भनिन्, “यस अवसरमा म मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाण्डू उपत्यका ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्त्व र प्रचार पायो।”

    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दैनिक ८.५ करोड लिटर पानी वितरण भइरहेको र चाँडै पूर्ण क्षमतानुरूप १७ करोड लिटर पानी वितरण गरिने बताए। ओलीले केही वर्षभित्र थप ३४ करोड लिटर पानी पनि ल्याउन सकिने आशा व्यक्त गरेका छन्।

    “मलाई लाग्छ सायद ८१ साल नयाँ वर्ष सुरु गर्दा, अब तीन वर्षपछि याङ्ग्री र लार्केको पानी पनि काठमाण्डूमा झार्न सफल हुनेछौँ। त्यसपछि काठमाण्डूको वितरण कार्य पूरा हुनेछ,” उनले भने।

    उनले सरकारले कोभिडको महामारीका बेलामा पनि विकास निर्माणलाई जारी राखेको बताए। एउटा प्रसिद्ध कविता उद्धृत गर्दै उनले भने, “ढुङ्गाको काप फोरेर पनि पीपल उम्रन्छ, पहरो फोरेर पनि मेलम्चीको पानी ल्याइन्छ। याङ्ग्री र लार्केको पानी पनि ल्याइन्छ।”

    मेलम्चीको आरोह-अवरोह

    आजको दिनसम्म आइपुग्दा मेलम्चीको उतारचढाव जान्न केही महत्त्वपूर्ण तथ्य र अङ्क यहाँ प्रस्तुत गरिएको छ।

    महत्त्वपूर्ण घटनाक्रम

    आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाण्डू आइपुगेको छ।

    • विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
    • विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
    • विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
    • विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
    • विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन – मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
    • विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
    • विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
    • विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
    धारा

    २२ वर्षमा काठमाण्डूको धारामा मेलम्चीको पानी

    • रु ३५ अर्बभन्दा बढी कुल आयोजना खर्च
    • ३३%नेपाल सरकार
    • ४६%एशियाली विकास ब्याङ्क
    • बाँकीअन्य दातृनिकाय
    • रु १.१२ अर्बमुआब्जाका लागि

    खर्च र स्रोत

    नेपालले कार्यान्वयन गरेको सबभन्दा ठूलो भौतिक पूर्वाधार आयोजनामा मेलम्ची पर्छ। यसको खर्च पनि निकै धेरै रहेको छ।

    • कुल आयोजना खर्च: ३१२ मिलियन अमेरिकी डलर वा ३५ अर्ब रुपैयाँभन्दा धेरै
    • नेपाल सरकारको लगानी: कुल खर्चको एक तिहाइ
    • एशियाली विकास ब्याङ्कको लगानी: कुल खर्चको झन्डै आधा वा ४६ प्रतिशत
    • अन्य दातृसंस्था: जाइका, नोर्डिक सहायता कोष र ओपेक
    • मुआब्जा खर्च (आर्थिक वर्ष २०७५/७६ सम्म): १ अर्ब १२ करोड रुपैयाँ
    • सामाजिक उत्थानमा खर्च: झन्डै ९५ करोड रुपैयाँ
    मेलम्ची

    मेलम्ची खोलाको काठमाण्डू यात्रा

    • २७ किलोमिटरलामो सुरुङ
    • १७ करोड लिटरपहिलो चरणमा दैनिक पानी आपूर्ति
    • थप ३४ करोड लिटरयाङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर थप्ने योजना
    • रु २५ अर्बथप लगानी आवश्यक

    सुरुङको कहानी

    नेपालमा यसअघि लामो सुरुङ निर्माणको अनुभव थिएन।

    मेलम्ची आयोजनाको मुख्य पूर्वाधार भनेको झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण रहेको थियो।

    • विसं २०६५: सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता, २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु
    • विसं २०६९: ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का रद्द
    • विसं २०७०: बाँकी सुरुङ निर्माण गर्न इटलीको सीएमसीलाई ठेक्का
    • विसं २०७५: २५ किमिभन्दा बढी सुरुङ खनिसकेको अवस्था फेरि विभिन्न विवाद, सीएमसीसँगको ठेक्का रद्द
    • विसं २०७६: सुरुङ र हेडवर्क्सका बाँकी काम गर्न सिनोहाइड्रोसँग ठेक्का सम्झौता
    • विसं २०७७ असार २१: सुरुङको पहिलो परीक्षण तर ३१ गते दुर्घटना भएपछि स्थगित
    • विसं २०७७ फागुन १०: सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु

    याङ्ग्री र लार्के

    पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ।

    तर बढ्दो जनसङ्ख्याका कारण उक्त परिमाण अपुग हुने भएकाले दोस्रो चरणमा मेलम्चीको पानीमा याङ्ग्री र लार्के खोलाका पानी समेत मिसाउने योजना अघि बढाइएको छ।

    • पानीको कुल परिमाण: मेलम्चीको १७ करोडमा याङ्ग्री र लार्केको पनि १७/१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना
    • थप दुईवटा सुरुङ: लार्केबाट याङ्ग्रीमा पानी खसाउन २ किमि लामो अनि याङ्ग्रीबाट मेलम्चीमा पानी खसाउन झन्डै ९.५ किमि लामो अर्को सुरुङ आवश्यक
    • थप लगानी: अहिलेको अनुमानमा थप २५ अर्ब रुपैयाँ खर्च हुने
    • पहुँच सडक निर्माण: याङ्ग्री खोलाको आयोजना निर्माणस्थलसम्मको पहुँच मार्ग निर्माणाधीन, सडक निर्माणपश्चात् सुरुङ तथा हेडवर्क्सको ठेक्का लगाउने प्रक्रिया सुरु हुने

    (स्रोत: मेलम्ची खानेपानी विकास समितिका विवरण एवं श्वेतपत्र) बीबीसीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस