चैत १६, २०७७
चौतारा : बढ्दो वायु प्रदूषणका कारण सरकारले देशभरका सम्पूर्ण शिक्षण संस्था तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।
भोली (मंगलबार) देखि लागू हुनेगरी चार दिनका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा परामर्श गरेका थिए। अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्नेछन्। केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका धुवाँ र धुलो मिसिएर वायु प्रदूषण बढेको छ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्व निर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुनेछन्।
‘पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछन’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा आफ्ना बालबालिकाहरुलाई विद्यालय बिदा भएको अवस्थामा घरभित्रै रहने व्यवस्था मिलाइ स्वास्थ्य प्रतिकूलताबाट जोगाउन सबै अभिभावकहरुमा मन्त्रालय हार्दिक अनुरोध गर्छ।’
प्रतिक्रिया दिनुहोस