चैत १२, २०७७
चौतारा : एकदमै कम त्यस्ता विषय, जो सबै उमेर वर्गका मानिसले रुचि राख्ने गर्छन् । मेलम्चीको पानी काठमाडौं बासीका लागि त्यस्तैमध्ये एक पर्छ । केही महिनाअघिसम्म जो कोहीले पनि मेलम्ची आउँदै छ भन्दा गफै त हो भनेर उडाउने गर्थे । मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलसम्म आएपछि भने तिनै मानिसहरू धारामा पानी आउने दिन गन्दै बसेका छन् ।
मेलम्चीले पानीले काकाकुल जीवन भोगिरहेका काठमाडौंवासीमात्रै होइन सिंगो देशलाई हर्षित बनाएको छ । बहुप्रतीक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो । काठमाडौं पुगेको २४ दिनपछि अर्थात् चैत १५ गतेदेखि मेलम्चीको पानी परीक्षणका रूपमा हरेकका धारा–धारामा पुग्दै छ भनेर सरकारले चर्चा बटुलिरहेको छ ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै उपत्यकावासीले अब घर–घरमा पानी पाउने सरकारको दाबी छ । सरकारी दाबी एकातिर तर वास्तविकता एकातिर रहेको छ । दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौंको सुन्दरी जलमा आइपुगे पनि घरघरमा वितरण भने सहज नभएको पाइएको छ । चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने बताइए पनि अहिले पनि आवश्यक संरचना भने तयार नभइसकेको पाइएको छ ।
काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका लागि पाइपलाइन बिछ्याइए पनि त्यसको परीक्षण भएको छैन । पानी वितरणका लागि नभइ नहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन प्रणालीको काम सुरुसमेत नभएको पाइएको छ ।
मेलम्ची खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी नै छ । तर, यता मेलम्ची उपआयोजना २ का प्रवक्ता उज्ज्वल प्रजापतिका अनुसार भने हालसम्म ८० हजार धाराका पोइन्टहरू जडान गरिएको छ भने १५ हजार नयाँ मिटर जडान भइसकेको छ ।
प्रवक्ता प्रजापतिका अनुसार कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेको थियो । यस अनुसार पनि अझै ३० हजार धारा जडान गर्ने काम बाँकी रहेको स्पष्ट देखिएको छ ।
मेलम्ची खानेपानी आयोजनाले चैतको दोस्रो सातादेखि परीक्षणका रूपमा पानी छाड्ने तयारी भइरहेको जनाएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल १ हजार १३२ किमि पाइपलाइन बिछ्याउनुपर्नेमा करिब १५ किमि पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।
काठमाडौं तथा ललितपुरका कतिपय ठाउँमा अहिले पनि पाइप बिछ्याउने काम भइरहेको छ । ६–७ वर्षदेखि पाइप बिछ्याएको तर पानी अभावले पुरेर राखिएका पाइपको अवस्थासमेत बुझ्न नसकिएको बताइएको छ । पानी हालेपछि मात्र त्यस्तो पाइपको अवस्था थाहा पाउन सकिने जनाइएको छ । यो विवरणलाई नै नियाल्दा पनि हरेक धारामा पानी आउने कुरा कत्तिको सम्भव छ त ? त्यसमा भने प्रश्न उब्जिएको छ ।
आयोजनाले भने अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण गर्ने र बिस्तारै नयाँ परीक्षण गर्दै जाने तयारी गरेको जनाइएको छ । मेलम्चीको पानी परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएकोमा २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको हो । यतिबेला पानी फोहोर भएकाले बागमतीमा हालिएको छ । सुन्दरीजलमा रहेका दुई वटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।
गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो । त्यसक्रममा हेलम्बू गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नम्बर १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो । फुटेको गेट नम्बर १७ लगायत अन्य संरचनाको पुनः जाँच गरी अहिले पानी सुरुङबाट पठाइएको हो ।
हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जनाएका छन् । उनका अनुसार, दैनिक बिना रोकावट हरेक उपभोक्ताको घरको धारामा पानी आइरहने निश्चित रहेको छ ।
‘चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर पानी वितरण हुनेछ’, प्रवक्ता न्यौपाने भन्छन्, ‘चैत २७ पछि भने दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ ।’ मेलम्चीको पानीका लागि अहिले मूल्य भने नतोकिएको उनको भनाइ छ । यद्यपि मिटर जडान शुल्क भने २५ सय रुपैयाँ हाराहारीमा रहने उनले बताएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए । मेलम्ची आयोजनाको सुरु भने २०५८/५९ मा भएको थियो । आयोजना सुरु गर्दा २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्चीको पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आएका थिए ।
विसं २०५८/५९ देखि आयोजना निर्माण थालिए पनि निरन्तर ढिलाइ र भ्रष्टाचार गर्दै काठमाडौं उपत्यकाका नागरिकलाई आशाको अंकुशमा उनिरहेको राज्यसंयन्त्रले बल्लतल्ल, झन्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो ।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता समेत भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।
केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकीको निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै पनि आएका थिए । जसअनुरुप पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।
राष्ट्रिय गौरवका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस