चैत ११, २०७७
चौतारा : जिल्लाको आइतबारेस्थित पुलबाट १६० मिटर तल हाम फालेर ‘बन्जी’ गर्दा केही भित्रैदेखि चिच्याएर रुन्छन्, कोही एकदमै रमाएर मज्जाले हाँस्छन् । भोटेकोसी गाउँपालिकाको मार्मिङ र लिस्तीकोटको बीचमा रहेको १६० मिटर उचाइमा गरिने प्रख्यात ‘बन्जी’को मज्जा लिने जोकोही मृत्यु जिते जस्तै अनुभव भएको दाबी गर्छन् ।
‘बन्जी गरिसकेपछि भित्रैदेखि रुन र हाँस्न मन लागेको छ, मृत्युलाई नजिकबाट नियालेको अनुभूति गरेर फर्किएको छु, भावुक बनेको छु,’ बन्जी गरेलगत्तै उत्साहित काठमाडौंको टोखा नगरपालिका साइबाबा चोकका रामकुमार थापाले भने । पाँच वर्षदेखि बन्जी जम्प गर्न नसकेर त्यत्तिकै फर्किरहेका थापाले हालै बन्जी गरिसकेपछि आफूलाई अलग्गै अनुभव गरेको सुनाए ।
कोदारी राजमार्गको नयाँ पुलस्थित चर्चित द लास्ट रिसोर्टको एडभेन्चर ‘बन्जी’ हानेपछि आफूलाई अलग्गै व्यक्तित्वमा पाएको अमेरिकी नागरिक किल्टोनले बताइन् । ‘बन्जी हानेर १६० फिट तल पुगेलगत्तै लाग्छ, म कुनै फरक संसारमा छु, त्यतिखेर जीवनप्रतिको मोह र लालसा केही हुन्न, एकदमै शून्य र फरक मज्जा हुन्छ,’ उनले भनिन् ।
एसियाकै तेस्रो प्राकृतिक सहासिक खेल मानिने एडभेन्चर ‘बन्जी’ का लागि यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । अहिलेसम्म १० हजारभन्दा बढी नेपालीले बन्जीको मज्जा लिइसकेको द लास्ट रिसोर्ट ‘बन्जी जम्प’ नेपालका व्यवस्थापक कुमार राउतले जानकारी दिए । भूकम्पअघि बन्जी एड्भेन्चरमा विदेशी पर्यटकको आगमन धेरै हुन्थ्यो ।
भूकम्प र भोटेकोसी बाढीपछि तंग्रिँदै गएको बन्जीमा अहिले नेपाली धेरै हुने गरेका छन् । ‘अहिले सातामा करिब दुई सय पर्यटक भित्रिन्छन्, जसमा प्रायः नेपाली हुने गरेका छन्,’ राउतले भने । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बन्जी एड्भेन्चर’ हान्ने गरेको उनले सुनाए ।
२०५६ सालमा पहिलो पटक न्युजिल्यान्डका डेबिड र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बन्जी जम्प पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात छ । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको साथै सीमावर्ती तातोपानीस्थित धारा हुँदै बन्जी एड्भेन्चरको आनन्द लिने पर्यटकको ताँती लाग्ने गरेको छ ।कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस