२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नक्कली नोटको कारोबार गर्ने मेलम्चीको राई सहित चार पक्राउ

  • २०७७ चैत्र १०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत १०, २०७७

    चौतारा : संगठित रुपमा नक्कली नेपाली नोटको कारोबार गर्ने चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ बस्ने २९ वर्षीय देवेन्द्र राई, १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १३ बस्ने २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवारलाई पक्राउ गरेको हो।

    एक हजार रुपैयाँको ७८ थान नक्कली नोट, नक्कली नोट छाप्ने तीन थान प्रिन्टर, दुई थान ल्यापटप र एफोर साइजको पेपरसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    घटनाको प्रारम्भिक अनुसन्धानअनुसार संगठित रुपमा नक्कली नोटको कारोबार भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए।

    ‘नक्कली नोटको संगठित रूपमा कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने, ‘संगठित अपराधअन्तर्गत चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेका छौँ।’

    मुलुकी अपराधसंहित २०७४ अनुसार नक्कली नोट बनाउने वा त्यस्तो उद्योग गर्नेलाई ५ वर्षदेखि १० बर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तो अपराध संगठित रूपमा भएको पुष्टि भएमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था छ।

    यसरी खुल्यो रहस्य

    भरतपुर महानगरपालिका वडा नं १ नारायणगढ बसपार्क क्षेत्रमा केही व्यक्तिले नक्कली नेपाली नोट दिई सामान खरिद गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चैत ६ गते राति साढे ८ बजे दुई जनालाई पक्राउ गरेको हो। प्रहरीले नेपाली एक हजार रुपैयाँको ७८ थान नोटसहित देवेन्द्र राई र पवन राईलाई पक्राउ गरेको थियो।

    अनुसन्धानलाई अगाडि बढाउँदै लैजाँदा नक्कली नोटको कारोबारमा विश्वराम राई र राजाराम दनुवारको समेत संलग्नता भेटिएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए। हाल मण्डनदेउपुर–६ सिपाघाटमा मोबाइल पसल सञ्चालन गर्दै आएका विश्वराम राईलाई चैत ७ गते पक्राउ गरिएको हो। उनको साथबाट नक्कली नोट छाप्न प्रयोग हुने दुई थान ल्यापटप, एक थान कार्डरिडर, दुई थान प्रिन्टर र एक थान हार्डडिक्स बरामद भएको उनले बताए।

    त्यस्तै,  हाल मेलम्ची–१३ सिन्धुखोलामा मोबाइल पसल सञ्चालन गर्दै आएका राजाराम दनुवारलाई एक थान प्रिन्टर र २४ पाना एफोर साइजको पेपर पक्राउ गरिएको हो। संगठित रुपमा भएको नक्कली नोटको कारोबारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस