काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले विस्तारै लय समात्ने बताएका छन्।
शनिबार जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
संसद छलफल, बहस, बादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपायहरु खोजिरहेको बताए। संसदको अनेकौँ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ।
उनले भने, ‘अलिकति समस्याहरु छन्। त्यसलाई लयमा फर्काउनको लागि बढी नै मिहिनेत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ। त्यसले गति लिन्छ। त्यो जीवन्त र जनमुखि हुने नै छ। हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ।’
संसदको मुख्य काम कानुन निर्माण गर्ने रहेको भन्दै उनले कानुन निर्माण गर्ने कुरामा अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दै रहेको पनि प्रस्ट पारे।
सभामुख सापकोटाले नयाँ नयाँ उपायहरु प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपायहरु खोजिरहेका पनि बताए। उनले भने, ‘विस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु कि त्यसले फेरि गति लिनेछ। जीवन्त र जनमुखी हुनेछ। संसद् भनेको छलफल, बहस, वादविवाद, सम्वाद हुँदै अगाडि जाने कुरा हो। वादविवाद छ अब सम्वाद हुँदै अगाडि बढ्छ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजनीतिक पार्टीहरूबीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमति साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए। उनले भने,‘मुलुक तरलताको अवस्थामा छ। अझै पनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन। मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ।’
सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताए।
प्रतिक्रिया दिनुहोस