चैत ८, २०७७
काठमाडौं : छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा पनि विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। पछिल्लो समय नेपालमा भिडभाड र मानिसको चहलपहल बढ्नुले कोरोना त्रास हराउँदै गएको महशुस हुन थालेको छ। केही समय अघिसम्म एक्लै हुँदा पनि अनिवार्य मास्क लगाउनेहरू अहिले भीडभाडमा पनि खुलेआम हिँडिरहेका छन्।
सार्वजनिक यातायात, सभा, जुलुसहरूमा पनि बिनामास्कका मानिस थुप्रै भेटिन्छन्। यहि समयमा संक्रमणको दोस्रो लहर सुरु भए भयावह बन्नसक्ने चिन्ता विज्ञहरूको छ। भारतमा केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ। कोरोनाको दोस्रो लहर सुरु भएकाे भन्दै फेरि लकडाउन गर्ने चर्चाले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन्।
भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ। महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरातलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेपछि मानिसको चहलपहलमा कडाई गरिएको छ।
मानिसको ओहोरदोहोर बढेपछि कोरोना त्रास पुनः बढदै गएको छ। विगतको तुलनामा संक्रमितको संख्या कम भएपनि कोरोनाको उच्च जोखिम रहेको छ। भारतमा संक्रमण दर बढ्नु भनेको नेपालमा संक्रमण बढने सम्भावना रहँदै गएको निश्चित सिमा खुला गरेर कोरोना परीक्षणको रिपोर्ट देखाएर मात्र नेपाल गर्न दिनुपर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन्।
विगतको इतिहासलाई हेर्दा भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या बढदै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुन बताउँछन्। एक वर्षमा कोरोनाबाट भएका क्षतिबाट पाठ सिक्न उनले आग्रह गरेका छन्। दोस्रो चरणको भाइरस देखिने वा नदेखिने भन्नलाई सम्पूर्ण कुरा भारतमा बढेको कोरोनालाई लिएर अनुमान गर्न सकिने उनले बताए। भारतमा संक्रमण बढेको छ।
‘समयमा सचेत भएर यसका नियन्त्रणका उपायहरु के-के हुन सक्छन त्यसको खोजी गरिनुपर्छ,’पुनले भने,’अहिले पनि भारतबाट आएका मानिसलाई क्वारेन्टाइमा राख्नुपर्छ। स्थानीय सरकारले सबैभन्दा बढी योगदान दिनुपर्छ। हरेक वडामा जनप्रतिनिधि हुन्छन् तिनीहरुले अनुगमन गरी बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखी परीक्षण पोजेटिभ देखिएमा उपचार गरिहाल्नुपर्दछ।’
प्रतिक्रिया दिनुहोस