चैत २, २०७७
चौतारा : वरिपरि लोभलाग्दो हिमशृंखला । हिउँले सेताम्मे फराकिलो लेकाली जंगल । जंगली डाँडाकै शिरमा बौद्ध मन्त्र लेखिएका दर्जनौं ध्वजापताका । लेकाली घना जंगलबीच कलात्मक मानेछ्योर्तेन र तीनतले निर्माणाधीन चिटिक्क मन्दिरझैं लाग्ने आमायांग्रीको गुम्बा ।
हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपकालिकाको सीमास्थित ह्योल्मो महादेवी आमायांग्री क्षेत्र पुग्दा काठमाडौं माकलबारीका मिलन तामाङ उत्साहित देखिन्थे । ‘यहाँ आएर लाग्यो कि स्वर्ग यही हो, यहाँका हिमशृंखला, प्राकृतिक बनोटले संसारलाई नै भुलाइदियो,’ उनले भने ।
हेलम्बुको परम्परागत छेच्यु पूजामा सहभागी भएर होमस्टे बासपछि आमायांग्री आइपुग्दा उनीसहितका १२ जना पर्यटक खुबै रमाए । ‘आमायांग्री समस्त जगत्को आमा हो, हाम्रा सबै सपना उहाँले पूरा गरिदिनुभएको छ, यहाँको दर्शन सकेपछि ढुक्पुङ अर्थात् गुरु रिन्पोछेको तपस्यास्थल पुग्दै छौं,’ आमायांग्री मन्दिरछेउ भेटिएका काठमाडौ बौद्धका ५३ वर्षीय सोनाम तामाङले भने ।
आमायांग्रीको प्राचीन मूर्ति राखिएको चिटिक्क कलात्मक गुम्बालाई भूकम्प र परकम्पले ध्वस्त बनाएपछि हेलम्बुकै स्थानीयको अग्ररतामा आमायांग्री गुम्बा ठडिँदै छ । फराकिलो डाँडामाथि आमायांग्री क्षेत्रको प्राकृतिक सुन्दरता हेर्नकै लागि काठमाडौंदेखि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । हिन्दू र बौद्ध तीर्थालुको घुइँचो लाग्ने यहाँ विशेषगरी विश्वकल्याणका लागि अनेक परम्परागत पूजा हुने गरेका छन् ।
ह्योल्मो संस्कृतिका अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोका अनुसार समुद्री सतहबाट ३ हजार ७ सय ७० मिटर उचाइमा रहेको आमायांग्रीको धार्मिक इतिहास बौद्धधर्म गुरु रिन्पोछे (पद्मसम्भव) सँग जोडिएको छ । सातौं शब्तादीका बौद्ध सम्प्रदायका महागुरु पद्मसम्भवले आमायांग्रीलाई गुप्त निधि लुकाएको क्षेत्रमध्ये ह्योल्मो क्षेत्रको सुरक्षाका लागि यहाँ तान्त्रिक विधिबाट आह्वान गरे ।
ह्योल्मो समुदायका कुलदेव अर्थात् सुङ्मो राखेर त्यही रूपअन्तर्गत आमायांग्रीलाई यस भेगको सुरक्षाका लागि रिन्पोछेले यो लेकक्षेत्र चुनेको ह्योल्मोले बताए । गुरु पद्मसम्भवका चार वटा गुप्त स्थानमध्येको एक तीर्थ ह्योल्मो क्षेत्र भएकाले आमायांग्री यहाँ आएर विश्व कल्याणार्थ स्थापित भएको उनले जनाए ।
चीनको ग्रेटवालको झल्को दिने गरी ह्योल्मो परम्पराको धर्मचक्र पर्खालअनुसार हिमालयन ग्रेट ट्रेललाई आमायांग्री भएर लैजाने योजना हेलम्बु गाउँपालिकाले बनाएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘आमायांग्रीको ट्रेकिङ रुट जोड्ने शेर्माथाङलाई घेरेर ग्रेट ट्रेलको काम थालिएको छ । आमायांग्रीलाई प्रवर्द्धन गर्ने बृहत् योजना बनाएर काम गर्दै छौं,’ उनले भने । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस