२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

आज काग तिहार, सुरु भयो दीपावली पर्व

Thumbnail
  • २०७४ आश्विन ३१, मंगलबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    ३१ असोज २०७४, सिन्धुपाल्चोक ।

    नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । आज काग तिहार सुरु भएसँगै दीपावली पर्व सुरु भएको हो ।

    यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दु धर्मानुसार कागलाई यमदूत मानिन्छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार बेलुकामा यमदीप दान गरिन्छ ।

    कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । तिहारको पहिलो दिन काग तिहार, कात्तिक १ गते बुधबार दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबारका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबारका दिन गाईपूजा, गोवर्द्धन पूजा, किसान पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबारका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

    लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुआतदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।

    तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ । यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन् । तिहारको अन्तिम दिन कात्तिक ४ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ ।

    यस वर्ष कात्तिक ४ गते बिहान ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि यो साइत शुभ रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस