फागुन ८, २०७७
काठमाडौँ : प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा जारी बहस शुक्रबार सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा शुक्रबार एमिकस क्युरीको बहस सकिएसँगै सो मुद्दामाथिको बहस सकिएको हो।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको अन्तिम बहस गर्दै शुक्रबार एमिकस क्युरीमा चयन वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र समसेर जवरा नेतृत्वको संवैधानिक इजलासले बहसमा सहभागी कानुन व्यवसायीहरूलाई सोमबारसम्म बहस नोट उपलब्ध समय तोकेको छ। इजलासले यो मुद्दालाई मङ्गलवारका लागि हेर्दाहेर्दैमा राखेको छ।
संवैधानिक इजलासले मङ्गलवार वा त्यसपछि जुनसुकै बेला प्रतिनिधिसभा विघटनविरुद्धको सो मुद्दामा फैसला गर्न सक्नेछ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो। सुरुका १३ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गर्नुभएको थियो भने त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायीहरूले ९ दिनसम्म बहस गरेका थिए।
पक्ष र विपक्षका कानुन व्यवसायीको बहसपछि चार दिनसम्म एमिकस क्युरीमा चयन ५ जना वरिष्ठ अधिवक्ताले राय दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सो विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
रिट निवेदकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग गर्नुभएको भने प्रधानमन्त्री पक्षले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार भएकाले रिट निवेदन खारेज हुनुपर्ने बताउँदै आएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस