फागुन ६, २०७७
चाैतारा : सिन्धुपाल्चोक जुरे पहिरोपीडित राहतको रकम माग्दै काठमाडौंको माइतीघरमा धर्ना बस्ने भएको छन्। दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएपछि पहिरो पीडित शनिबार माइतीघरमा धर्ना बस्न लागेको हुन्।
बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारले पीडितहरूको नाममा जम्मा भएको रकम प्रदान गर्ने व्यवस्था नगरेपछि पहिरो चरणमा सरकारको विरोधमा धर्ना बस्न लागेको बताएका छन्।
‘माइतीघरमा हुने धर्ना कुनै पनि राजनीतिक कार्यक्रम नभई जुरे पहिरो पीडितहरूको न्यायको पक्षमा भएको सबैमा जानकारी गराउँछौँ। केन्द्रीय सरकारको विरुद्ध हुने यो सांकेतिक आन्दोलनपछि पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम नपाउँदासम्म गाउँपालिकाको तर्फबाटै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने समेत हामी सबैमा जानकारी गराउँदैछौ’ जारी विज्ञप्तिमा भनिएको छ।
पीडितको मागसहित गर्न लागिएको आन्दोलनमा सबै जिल्लाबासीहरु तथा खास गरी काठमाण्डौंमा बसोबास गर्ने आम सिन्धुवासी ऐक्यबद्धता जनाउन आह्वान समेत गरेको छ।
प्रधानमन्त्री, उपप्रधान, गृहमन्त्रीलगायत संघीय जनप्रतिनिधिहरूसँग पीडितहरूको नाममा संकलन भएको रकम वितरणको व्यवस्थाका लागि हामीले धेरै पटक आग्रह गर्दा समेत वेवास्ता गरेको गुनासो गरेका छन्।
‘पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम पाउनका लागि धेरै पटक आन्दोलन समेत गरेका थिए। तर, पनि रकम वितरणको कुनै पहल भएन। पीडितहरूको नाममा जम्मा भएको रकम पीडितहरुलाई वितरण गर्नका लागि अब सशक्त आन्दोलन गर्नुको विकल्प देखिएन’ विज्ञप्तीमा भनिएको छ।
साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो। पहिरोमा १ सय ४५ को मृत्यु भएको थियो।
पीडितहरुलाई त्यतिबेला स्वदेश र विदेशबाट सहयोगी दाताहरुले तत्कालिन जिल्ला दैवीप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए। २ करोड २४ लाख रुपियाँ जुरे पहिरो पीडितहरुकाे लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पीडितहरुले पाउँन सकेका छैनन्।
पहिरो गएको ७ वर्ष हुँदासम्म पीडितहरूको लागि संकलन भएको रकम प्रदान नहुनु केन्द्रीय सरकारको चरम लापरवाही र पीडितहरूको भावनामा चरम खेलबाड भएको ठहर गरेको छ।
प्रतिक्रिया दिनुहोस