फागुन ३, २०७७
चौतारा : निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले उत्पादन तयारी थालेको छ । शिवश्री हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको आयोजनाले आउँदो एक सात्रा भित्र परीक्षण उत्पादन थाल्ने तयारी गरेको हो ।
योसँगै राष्ट्रिय प्रशारण लाइनमा तल्काल आठ मेगावाट विद्युत थपिने भएको छ । ‘अबको एक साताभित्र परीक्षण र त्यसको १५ दिनपछि व्यवसायिक उत्पादनमा जाने आयोजनाको तयारी छ,’ शिवश्रीका प्रवन्ध निर्देशक विष्णु खत्रीले भने ।
नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका–४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिने शिवश्रीले जनाएको समाचार नागरिक दैनिकले लेखेको छ।
हिउँदको सुख्खा मौसम भएकाले आयोजनाबाट तत्काल आठ मेगावाट विद्युत उत्पादन हुने प्रवन्ध निर्देशक खत्रीले बताए । ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ उनले भने ।
फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पु¥याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले जानकारी दिए । ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने ।
२०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पु¥याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कसजू बताउँछन् । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पु¥याएको थियो ।
शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर बितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले जनाए ।
शिवश्री र विद्युत प्राधिकरणबीच २०६७ मा पिपिए (विद्युत खरिद सम्झौता) भएको थियो । सम्झौताअनुसार प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत खरिद गर्ने छ ।
प्रतिक्रिया दिनुहोस