२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

श्वेतालाई फ्यानको प्रश्न : समाजभन्दा माथिल्लो हैसियतको रबाफ बाँचेर कसलाई देखाउँछौँ ?

  • २०७७ माघ २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • माघ २६, २०७७

    चौतारा : पछिल्ला केही दिन यता अभिनेत्री श्वेता खड्का विवादमा तानिएकी छन् । केही वर्षअघि माझी बस्ती निर्माणको घोषणा गरेकी श्वेताले अहिलेसम्म उक्त बस्ती बनाइसकेकी छैनन् । उनलाई देश तथा विदेशमा बस्ने धेरैले आफ्नो गाँस काँटेर बस्ती निर्माणका लागि सहयोग गरेका थिए । तर, श्वेताले त्यो खर्च देखाउनुको साटो दाताहरुले सहयोग दिन्छु भनेर नदिएको भन्दै सामाजिक सञ्जालमा लेखिन् । त्यसपछि उनका फ्यानहरुले उनलाई प्रश्न गर्न थालेका छन् ।

    गएको साता काठमाडौंको नाइट क्लबमा अभिनेत्री सुष्मा कार्कीसँग लफडा गरेपछि श्वेताका फ्यान उनीसँग झन् धेरै चिडिएका छन् । मणि भट्टराईले लामो स्टाटस लेख्दै श्वेतालाई प्रश्न गरेका छन्, ‘श्वेता खड्काले माझी बस्ती निर्माण गर्ने भन्दा विदेशमा सातामा एक चोटी एउटा स्यान्ड्बीच र सोडा किनेर खान पनि लोभाइ-लोभाइ घरबाट लगेको भुटेको भात खाएर जोगाउने श्रमजीवी नेपालीहरूले श्वेतालाई पैसा दिएर होस्टेमा हैंसे गरे । ऊनी बिरामी भइन् । ऊनको सत्कर्म र श्रीकृष्णसँगै उनको कलाकारिताबाट लोभिएकाहरू सबै चिन्तित भए । उनको निम्ति प्रार्थना गरे ।’

    उनले अगाडि लेखेका छन्, ‘त्यसपछि श्वेताले बिहे गर्ने भन्दा सबै फ्यान फलोअर्स खुसीले पुलकित भए । समाजको सोच परिवर्तन गर्नुपर्छ । श्वेता तिमीले बिहे गर्नु नै पर्छ भनेर प्रोत्साहन गरे । शुभकामना बर्साए । श्वेताका फलोअर्सहरू अझ लाखौंको संख्यामा थपिए । यतिसम्म कुरो ठीकठाक थियो । सब राम्रै चलिरहेको थियो । 

    जब श्वेताको विवाह दोस्रो विवाह जस्तो नभएर एकदमै राजसी शैलीको खर्चिलो र तडकभडक देखियो,  करोडौं खर्च गरेर निर्माण गरिने चलचित्र सुटिंगका दृष्यहरू जस्ता दृष्यहरू रियल लाइफमा देखिन थाले ।

    ती पनि विभिन्न चरणका पार्टीहरू हुँदै महिनौंसम्म महँगा होटलहरूमा सम्पन्न हुन थाले र ती परिदृष्यहरू श्वेताका फेसबुक पेजबाट धारावाहिक प्रसारण हुन थाले तब श्वेताका ती श्रमजीवी फ्यान फलोअर्सहरू भुटेको भात घाँटीमै रोकेर सोच्न थाले, ‘मैले त्यस्तो दुःख गरेर कमाएको पैसा किन दिएछु ?’ तिनीहरूले घरमा आमाले खर्च माग्दा झर्केर छैन भनेको सम्झे । स्वास्नीले यसपालिको दसैंमा सामान्य लेहंगा किनेर लाऊँछु भन्दा कचकच नगर, पोहोरको साडी नयाँ छ त  कति पैसा माग्दी रैछे ! भनेको सम्झे । यस्तै यस्तै अरू धेरै कुरा सम्झे ।

    यतिसम्म पनि उनीहरुले पचाएको भन्दै मणिले अगाडि लेखेक छन्, ‘एक किसिमले यतिसम्म पनि ठिकै थ्यो भनौं न । तर, जब श्वेताले बिहेको धङधङी उत्रेपछि ‘धुर्मुससुन्तलीको रंगशालाको जस्तै छ हाल त माझी बस्तीको’ भनेर रङ्गशाला र माझी बस्तीका तस्बिर एक साथ अपलोड गरिन् अनि उनका फलोअर्सहरू तिलमिलाए ।

    बिहेमा उनले गरेको फजुल खर्चमा चित्त नबुझे पनि केही नबोली टुलुटुलु हेरिरहेकाहरूले आफूलाई पोखे । दुखेको मनका सुस्केरा निकाले । बिहेमा कसलाई देखाउन त्यसरी खर्च गरेको भनी प्रश्न तेर्स्याए ? अरूसँग मात्र माग्ने कि आफू पनि सहयोग गर्ने ? आदि विभिन्न प्रश्नहरू गरे । शंका उपशंकाहरू थपे ।’

    मणि अगाडि लेख्छन्, ‘श्वेता लगायतकाले यसबाट सिक्नुपर्ने पाठ के हो भने समाजभन्दा माथिल्लो हैसियतको रबाफ बाँचेर कसलाई देखाउनु ? किन देखाउनु ? देखाए पनि आफू बराबरकालाई देखाए भइगयो नि ! जे जे गर्नु छ चुपचाप गरे भइगयो नि ! तडकभडक देखाउनु चाहिँ किन पर्‍यो ? कसैको १० लाखको जग्गा जमिन छैन, तिम्रो फ्यान भयो भन्दैमा, तिम्रा दु:खलाई आफ्नै दु:ख सम्झो भन्दैमा उसले तिम्रा २५ लाख, ३० लाखका लेहंगामा कसरी लाइक ठोकिरहनु  ? पाँच वर्ष विदेश बस्दा १५ लाख कमाएको छैन उसले अब तिम्रो अभियानमा कति चन्दा दिनु ? अनि जवाफ फर्काइ हाल्छ नि, किन फर्काऊँदैन ? अझै उसकी आमा बिरामी हुँदा ऊ एक्लो हुनेछ भन्ने उसले चाल पाउनु भने त कसो गर्दो हो ?’

    उनले आफ्नो गुनासो बिट मार्ने क्रममा लेखेका छन्, ‘बरू नाटकै सही धुर्मुससुन्तलीबाट केही केही सिक श्वेता । तिम्रो प्रगतिप्रतिको जलन होइन यो, तिम्रो खुसीप्रतिको बेखुसी होइन । मैले पहिलेदेखि अहिलेसम्म तिम्रै वालमा देखेको दृष्य लेखेको मात्र हो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस