माघ १३, २०७७
चौतारा : सरकारले बुधबारबाट देशभर कोरोना भाइरस विरुद्धको खोप अभियान (पहिलो चरण) अघि बढाउने तयारी गरिरहेको छ। कोरोनाको खोप लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए सरकारले निशुल्क उपचार गर्ने जनाएको छ।
खोप लगाउँदा स्वास्थ्य समस्या आए जुन ठाउँमा खोप लगाइएको हो, सोही ठाउँमा उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो।
खोप लगाएपछि स्वास्थ्यमा समस्या आए उपचार गर्न समस्या नभएको तर पहिलो चरणको खोप अभियान भएकाले धेरै स्वास्थ्यकर्मीलाई परामर्शको आवश्यकता रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए।
नेपालमा दी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप लगाउन लागिएको हो। सरकारले नेपालमा कोरोनाविरुद्ध खोप प्रयोग निम्ति आवश्यक निर्देशिका तयार गरिसकेको छ।
खोप लगाएपछि निश्चित समयसम्म स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ भने समस्या देखिए निर्देशिकामा उल्लेख भएअनुसार सावधानी अपनाउनुपर्छ।
खोप लगाएको केही मिनेटदेखि दुई घन्टाभित्रमा शरीर फुस्रो हुने, श्वासप्रश्वासमा समस्या आउने, मुटुको धड्कन कम हुने वा रक्तचाप कम हुने र वान्ता हुनेजस्ता जोखिमपुर्ण लक्षण हुने हुँदा केही समय स्वास्थ्यकर्मीको परामर्शमै रहनुपर्ने बताइएको छ।
तर, खोप लगाएको वरपर फोका उठ्ने, चिलाउने, गर्मी हुने, ह्याच्छिउँ आउनेजस्ता समस्या देखिए नआत्तिन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस