२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अमित घिमिरेको सफलताको कथा

  • २०७७ माघ १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • माघ १०, २०७७

    जब म ८/९ वर्षको थिएँ दोबाटोमा मन्छेर फालेको भेट्थ्यें । ठूलो टपरीमा, कुखुराको फुल, कालोमाटी र ढिँडोबाट बनेका विभिन्न मसानको आकृतिहरु, फलामको खिल, गाई भएको ५ पैसाका ढ्याक, कालाराता धजाहरु, धान, मासका गेडाहरु हुन्थ्ये ।

    सिजनमा कुभिण्डो पनि दुई फप्लेटा पारिएको हुन्थ्यो–मार हानिएको हुन्थ्यो ।सानामा यसरी मन्छेको ठाउँमा छोइएला भन्ने डर हुन्थ्यो । यस्तो मन्छेर फालेको देखेपछि डर लाग्थ्यो । आमा भन्नु हुन्थ्यो “रातभरी चिन्ता गरेर यो दशाग्रह मन्छाइएको हो “। त्यहाँ उति बेला गाई भएको ५ पैसाका ढ्याक, कुखुराको फुल, कालोमाटी र ढिँडोबाट बनेका विभिन्न मसानको आकृतिहरु हुन्थ्ये ।

    कालाराता धजाहरु, धान, मासका गेडाहरु हुन्थ्ये । अहिले पनि त्यसै रहेछ-मन्छने विधि-सामान र ३ दशक अघिको त्यो रित । तर अहिले म छुट्टै भएको छु । यसबीच आमा रहनु भएन । त्यो बालापनबाट समयले ३ दशक माथि कटायो । डर छैन । डर आमा हुँदा थियो । अहिले आमा हुनुहुन्न र डर भएन वा म ठूलो भएँ ।

    बुझ्न त हिँजो पनि त्यही भनेर बुझेको थिएँ र आज पनि । धेरै थोक बदलियो । तर पीडा बदलिएको रहेनछ । मानिस उस्तै दुःखी र विरामी रहेछन्, दोबाटोमा धेरै ठाउँमा यसरी मन्छेको पाएँ । अक्सर विपन्न, गरिब, अलि हेलाहोचो र वर्णाश्रमको चपेटामा परेका बस्तीका दोबाटोमा यसरी मन्छेर फालिन्छ । मैले त्यही पाएँ ।

    मैले हुनेखानेहरु, सुकिलामुकिलाहरुको दोबाटोमा यसरी मन्छेको देखिन । ऊ बेलामा पनि मलाई लागेको थियो दशा केबल गरिबलाई लाग्छ । मसान र भूत पनि गरिबलाई नै लाग्छ । र विस्वास पनि । अचेल म त्यो मन्छेको मलाई लागोस र मन्छेने मानिसलाई निको होस् भनेर जानाजान छुन्छु । चुकाएको रातो अविर दलिएको फुल हत्केलामा लिन्छु ।

    अचेल गाई भएको ५ पैसे सिलावरको ढ्याक हुन्न अहिले १ रुपैयाको सिक्का हुन्छ, ती पनि टिप्छु । खान हुने केही नहुने रहेछ नत्र म खाई दिने पनि थिएँ । धजाहरु र पैसा टिपेर मैले गोजीमा लिएर पनि हिँडें । बदलामा कामना गरें जसले जे कामना गर्यो त्यो पूर्ण होस् । उसले जुन मनोरथले मसान भागोस, रोगब्याधी हटोस् भनेर पन्छाएको हो त्यो रोग पन्छियोस र मलाई सरोस् । महङ्गो उपचार गर्न नसकेर उसले राखेको (मन्छाउने) आस्थाले काम गरोस् ।

    अरु केही सहयोग गर्न नसकेनी मन्छाएको मलाई सरिदिएर उसलाई(अज्ञात) निको भए म पनि धन्य हुने थिएँ । हो अचेल गरिब, विपन्न, हुँदा मात्र खान पाउने झुप्राहरुको दोबाटो खोजी हिँड्ने गरेको छु । शायद म….मेरो असफलताको कथामा यी र यसोरी आफालिएका विस्वासहरु पनि सतीसाल झै अडिक भएर रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस