२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले लिए सपथ

  • २०७७ माघ ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • माघ ८, २०७७

    एजेन्सी : ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् । अमेरिकी संसद भवन क्यापिटल हिल बाहिर आयोजित समारोहमा बाइडेनले सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिए ।

    पहिलो अश्वेत एवं दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपतिको हैसियतमा कमला ह्यारिसले पनि सपथ ग्रहण गरिन् । बाइडेनले २०० वर्ष पुरानो बाइबलमा हात राखेर सपथ लिए । ह्यारिसले २ वटा बाइबल छोएर सपथ लिइन् ।

    सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै बाइडेनले अनेकौं चुनौतिको बीचबाट पुनः नयाँ अमेरिकाको उदय हुने बताए । ‘यो प्रजातन्त्रको दिन हो । यो इतिहास र आशाको दिन हो । यो नवीकरण र समाधानको दिन हो’ बाइडेनले भने ।

    ‘जनताको अभिमत सुनिएको छ । जनताकै इच्छाअनुसार अमेरिका अघि बढ्छ । हामीले लोकतन्त्र महंगो छ भन्ने कुरा पुनः सिक्यौं । लोकतन्त्र जीवन्त हुन्छ भन्ने बुझ्यौं । मेरा प्रिय साथीहरु, यो समयमा लोकतन्त्र पुनः जीवित भएको छ’ बाइडेनले भने ।

    आफूले भोट नदिने अमेरिकी नागरिकको पनि आफू राष्ट्रपति भएको बाइडेनले बताए । ‘म सबै अमेरिकीको राष्ट्रपति बन्न चाहन्छु । मलाई भोट दिनेको मात्र होइन, भोट नदिनेको पनि म राष्ट्रपति बन्न चाहन्छु’ उनले भने, ‘म सबै पार्टीका प्रतिनिधिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

    कोरोनाभाइरस महामारी अमेरिकाको लागि ठूलो चुनौति भएको बताउँदै बाइडेनले भाइरसलाई परास्त गर्नको लागि सबै एकजुट हुनुपर्ने खाँचो औंल्याए । भाइरसबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाइडेनले मौन धारण पनि गरे । भाइरसलाई जितेर बालबालिकालाई चाँडै स्कुल पठाउने दिनको प्रतीक्षामा आफू रहेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस