२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नेपालमा कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

  • २०७७ माघ ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • माघ ३, २०७७

    काठमाडौं : औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड/एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार लगाउन सुरु गरिँदै छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको बताए। ‘नेपालको लागि अनुमति पाएको यो पहिलो खोप हो। यससँगै प्रयोग गर्ने बाटो खुलेको छ। यो खुसीको कुरा हो’, प्रवक्ता डा. गौतमले भने, ‘भारतबाट खोप उपलब्ध भएपछि तुरुन्तै खोप दिने कार्य सुरु हुन्छ।’

    यो खोप नेपालमा भण्डारण गर्न उपयुक्त रहेको उनले जनाए। उनका अनुसार यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। यस्तै, झन्डै २० प्रतिशत नागरिकका लागि कोभिसिल्ड भण्डारण गर्न सकिने पूर्वाधार रहेको उनले बताए।

    स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार नेपालमा २ देखि ८ डिग्री र माइनस २० डिग्रीमा भण्डारण हुने खोपका लागि पूर्वाधार व्यवस्था छ। अहिलेको खोपलाई आपत्कालीन प्रयोगका लागि अस्थायी अनुमति दिइएकाले ससर्त भनिएको बताए।

    मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरी प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो। औषधि व्यवस्था विभागले खोप दर्ताका लागि आह्वान गरिसकेको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस