२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

अमित घिमिरेको सफलताको कथा

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • अमित घिमिरे

    पुष २९, २०७७

    कहाँ जाँदै छु र म कसलाई भेट्नेछु केही पूर्व योजना नै हुन्न । शुक्रवार अफिसबाटै म मेलम्ची गएँथ्ये । सन्ध्या उन्मुख समय भएको थिएन तथापी जाडोको मौसमले त्यस्तो प्रतीत हुन्थ्यो । म मेलम्ची भन्दा माथि लागें । साविकको महाङकाल गाविस र ‌ओर्लिए खोलाको किनारमा ।

    म बगरमा जीवन खोजिरहेको थिएँ । त्यसो त बगरको परिभाषामा जीवनको कत्तिको शाब्दिकता हुन्छ – जान्दिन । अपितु आम देखाईमा बगर, पाखा लागेका झिँझा, किनार लागेका अस्तु नभएका लाशका अवशेषहरु एकत्र गर्ने थलो हो । म पनि यही देख्छु तर जीवनसहित । म, बगर पाखा लागेका झिँझा, किनार लागेका, अस्तु नभएका लाशका अवशेषहरुको मौनता ।

    यदाकदा माथिल्लो किनारमा फाट्ट फुट्ट आउने सवारी साधन अनि एकनास सुसाई रहने खोलो । घण्टौं बितिसकेको थियो । केही चलेको आवाजले मेरो ध्यान खिच्यो । एउटा बनमान्छे मानकमा ऊ फुत्त देखापरी । तरायन चेहेरा । शायद जीवन प्रकट भएको हो । मेरो ज्ञान र चेतनाका लागि । ऊ- उसको उमेर, हालत देखेर मैले मेरो काव्य पात्र “आभा” सम्झिए तुलना गरें ।

    ऊ भन्थि (मेरा काव्यहरुमा) “तपाईको प्रेममा म एक दिन पगली हुनेछु र हातमा चप्पल लिएर, झाँक्रो फिँजाएर हिँड्ने छु” । यो पगली पनि मायाका नाममा पागली भएकी होली । बगर छाडेर म उसको पछि लागें-उसलाई पढ्न-उसको मायालाई पढ्न ।पढ्न नसकेको उनको कथाले यसै पनि उदिग्न बनाउँछ । आखिर कस्तो दर्द उनको छातीमा छ ? एउटा तामासा बन्न मञ्जूर भयो उनलाई किन ? खोलाका किनार-किनार दौडिएर पनि उनले हाम फालिनन्, कुनै टिप्पर र गाडिको चक्का मुनी ढुनमुनिनन् किन ?

    यो रमिता प्रतिकात्म लाग्छ मलाई ।उनलाई जीवन मोह छ र उनले जीवन लीला समाप्त पारिनन् पक्कै हैन, मलाई लाग्छ प्रतिकात्मक उनको यो प्रस्तुति प्रेम-तपडको बिम्ब हो । धोकाको घातको र अनि कथित आफ्नाहरुको पीठमा धसिएको छूराको आलो घा‌उको प्रतिप्रारुप हो ।तर यहाँ कस्ता कुलटाहरु हाँसेर अभिमानले शिर ठाडो पारेर बाँचेका छन् ।

    यही उमेरका केही नौटंकीहरु प्रेम एउटासँग, शरीर एउटासँग दिनहू साट्छन र पाएसम्म सभ्रान्त हुनेखाने फसाएर खुशीको जीवन बाँच्छन् । आफू नैतिक चरित्रका कारण परित्याक्त भएर पनि प्रेम आहुतीमा लीन रहेको फोस्रो काव्य रचेर मान्छेलाई बेबकुफ बनाउँछन् । तर उनले कुनै अभिनय नै गरिनन् । सिर्फ प्रेममा वर्वादी, सालीन बर्वादीलाई रोजीन् ।कुनै उफ् ! अहा ! उनको चेहेरामा छैन । कस्तो अद्भुत शान्ति छ । उनी शान्त छिन् र म तड्पमा छु । यद्यपी मेरो कोही हैनन् उनी । म घण्टौं उनको बेसिलसिलेवार क्रियाकलाप नियाल्छु, मुहारको भंगीमा अनुभूत गर्ने यत्न गर्छु माया नै यी सब बस्तुस्थितिको कारण हो भने नगरोस् कोही प्रेम ।

    पिछा लाग्दा लाग्दै रोडमा आइपुग्छौ । त्यहाँ दोकानमा म चाउचाउ दालमोठ चिउरा र विस्कुट किन्छु र उनलाई दिन्छु । उनी लिन्छिन । कुनै प्रतिक्रिया विना । र सरासर फेरि दायाँवायाँ लाग्छिन् । म अलि पिछा गर्छु । मलाई उनको पीडाको काव्य लेख्ने लालच जागेको हुन्छ । किन यिनी स्ती भइन् । मायाका कारण ? अपवादबाहेक अहिलेको माया मैलो छ । स्वाङ र नाटक बढी छ । झन् सामाजिक सञ्जाल भित्रेपछि माया त केवल छल हो । पाँच/सात वटा स्वरुप र रुप हुने गर्छ । समर्पण हैन स्वार्थ छ ।

    कुनै होटल लज रेष्टुँराको तन्ना भिजाएपछि माया सकिन्छ । तर हे पगली तिमीले सच्चा माया गर्यौ र मायाले लुट्यो- नगरोस् कोही प्रेम सोच्दै मैले कैयन प्रयत्न गरें मैले सोधें”तपाईको नाम के” ?”आपका नाम क्या है””कहाँबाट आउनु भएको””कहाँ जाने””किन यसोरी हिँडेको””म तपाईलाई केही मद्दत गरुँ तपाईको घरसम्म पुर्याउन””वोल्नु न कुन त्यो कारण हो जसले तपाईलाई यो गतिमा पुर्यायो””माया लाग्दैन आफ्नो””आफ्ना आफन्त कोही छैनन्”कति प्रश्नहरु सोधें ।

    लाग्थ्यो उनलाई मेरो हरकुनै सवालको कुनै असरै थिएन । ढुंगालाई झै । के प्रेमले मानिसलाई ढुंगा बनाउँछ हो ? म उनको पछि लागेको देखेर हेर्नेहरु पनि उल्लेख्य भए । मलाई अमित घिमिरे भनेर चिन्नेहरु थिएँ तर उनी को हुन् चिन्ने कोही थिएनन् । शायद उनी स्यवमलाई चिन्दिन थिइन् । विस्तारै उज्यालाहरु मधुरो हुँदै गए । मैले सकिँन उनीबाट एक शब्द पनि बोलाउँन । मेरा रेडियो सुनेर बनेका फ्यान पत्रकारिता र साहित्यका अनुरागीहरु समीप आए । केके प्रश्नोउत्तर गरें । म पनि उनी जस्तै बुत बनिसकेको थिएँ । उनी कुइनेटो कटेर अलप भइन् । मेरो असफलताको कथा छाडेर । भोलिपल्ट विहान उनी वरपर नै थिइनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस