२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

दुई बस्ती स्थानान्तरणका लागि सिफारिस

  • २०७७ पौष २२, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुष २२, २०७७
    चौतारा : गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ ।

    बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । असार–साउनमा गएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको मृत्यु भएपछि सरकारले सो क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको समाचार आजको राजधानी दैनिकले लेखेको छ।

    पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगल गाउँपालिकाका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो ।

    स्थलगत अध्ययन गर्न गएको टोलीले पुनर्निर्माण प्राधिकरण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अध्ययनको निष्कर्षसहितको प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।

    विज्ञको टोलीमा पुनर्निर्माण प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले मंगलबार पत्रकार सम्मेलन गरेर अध्ययन गरिएका चार बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको जानकारी दिए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा भूगर्भविद्, जिओटेक इन्जिनियर, सहरी योजनाकार, नापी अधिकारीलगायत विज्ञ सम्मिलित प्राविधिक टोलीले जोखिम स्थलको अध्ययन गरेको थियो ।

    ‘हामीले एक सातासम्म जोखिम बस्तीको अध्ययन ग¥यौं । चार बस्तीमध्ये दुई बस्ती नै स्थानान्तरण गर्नुपर्छ,’ प्रमुख निरौलाले भने, ‘लिदी र सानो नाम्फामा अब मानवबस्ती बसाउनै मिल्दैन ।’

    यस वर्षको वर्षाको समयमा पहिरोबाट ३९ जनाको ज्यान गएको लिदीमा अब बस्ती बसाल्न नसक्ने अध्ययनबाट देखिएको प्रमुख निरौलाले जानकारी दिए । लिदीमा १ सय ७२ घरधुरी थिए । खेतीपाती गर्न मिल्ने भए पनि लिदीमा फेरि बस्ती राखियो भने योभन्दा ठूलो जनधनको क्षति हुने प्रमुख निरौलाले जानकारी दिए ।

    विज्ञको टोलीले जुगल गाउँपालिकाका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सन्चगाउँको अध्ययन गरेको थियो । ‘हामीले अध्ययन गर्दा लिदी र सानो नाम्फा जोखिममा रहेको पाएका छौं । सन्चगाउँ र ठूलो नाम्फामा केही सुरक्षाका सावधानी अपनाएर बस्ती बसाउन सकिन्छ,’ प्रमुख निरौलाले भने ।

    बोल्देमा भने बस्ती राख्ने विषयमा निष्कर्न निकाल्न नसकिएको उनले बताए । ‘बोल्देमा अझै उच्चस्तरीय विज्ञको टोली गएर अध्ययन गर्नुपर्छ भनेर हामीले सिफारिस गरेका छौं,’ प्रमुख निरौलाले भने, ‘त्यो टोलीको प्रतिवेदन आएपछि मात्रै बोल्देको विषयमा टुंगो लाग्छ ।’

    मानव बस्तीको हिसाबले बोल्दे सबैभन्दा बढी बसोबास रहेको क्षेत्र हो । बोल्देमा २ सय ७० घरधुरी छन् । त्यस्तै लिदीमा १ सय ७२ र सानो नाम्फामा २६ घरधुरी छन् ।

    विज्ञको टोली जोखिमुक्त बस्तीको पहिचान गर्ने, पहिचान भइसकेका बस्तीको थप अध्ययन गर्ने, संरक्षण गरेर बस्ती बसाउन मिल्ने÷नमिल्ने, नमिल्ने भए वैकल्पिक सुरक्षित स्थल खोज्नेलगायत कामको जिम्मेवारी लिएर जोखिमयुक्त बस्तीमा पुगेको थियो ।

    लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाको अगुवाइमा सिन्धुपाल्चोकका जनप्रतिनिधिको पहलमा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय भएको थियो । उनले संघ र जिल्लामा फरक फरक बैठक आयोजना गरी सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनर्निर्माणका लागि लगातार पहल पछि विज्ञको टोली जुगल पुगेको हो ।

    स्थानान्तरणका लागि बाँसखर्क उपयुक्त

    जुगलको लिदीमा पहिरोले ३९ को ज्यान गएको र बस्ती जोखिममा भएपछि यस क्षेत्रका स्थानीयलाई जुगल–१ सेलाङमा रहेको बाँसखर्कमा ल्याएर राखिएको थियो । विज्ञको टोलीले बाँसखर्क पुगेर त्यहाँ बस्ती बसाउने विषयमा अध्ययन गरेको थियो ।

    ‘हाम्रो टोलीले हेरेकोमध्ये बाँसखर्क सबैभन्दा सेफ देखियो,’ जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख सन्तोष निरौलाले भने । विस्थापित भएर बाँसखर्कमा बस्दै आएका लिदीका स्थानीयले विज्ञ टोलीसँग आफूहरू अब बाँसखर्कमा बस्न तयार रहे पनि यहाँ सबै संरचना बनाइदिन माग गरेका छन् ।

    गएको असारयता जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको थियो । विपद्का घटनामा ७३ जनाले ज्यान गुमाएका थिए । ३९ जना अझै बेपत्ता छन् । १ सय २७ घर क्षतिग्रस्त हुँदा सयौं स्थानीय विस्थापित हुन बाध्य भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस