२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मध्य भोटेकोशीको बाँध एक वर्ष नबित्दै भत्कियो

  • २०७७ पौष २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • पुष २०, २०७७
    चौतारा : कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ ।

    भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन् ।

    भोटेकोसीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सार्वजनिक भएको थियो । बाँध निर्माणसम्बन्धी विद्युत् प्राधिकरणका विज्ञहरू भन्छन्, ‘स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु गुणस्तरमाथिकै प्रश्न हो । बाँध नै कमजोर भएपछि आयोजनाको हालत के होला?’ आयोजनाका एक पूर्वसीईओले आयोजनाको गुणस्तर राम्रोसँग जाँच्ने हो भने धेरै समस्या भेटिने बताए । बाँधमा पानी निकासका लागि बनाइएको एक प्रकारको संरचना स्पिल–वे हो । ‘यसमा पानी, ढुंगा र बालुवाको बढी नै प्रेसर पर्छ,’ भोटेकोसी कम्पनीका सीईओ सुभास मिश्रले भने, ‘बेलाबेलामा मर्मत गर्नुपर्ने नै हुन्छ ।’

    चिलिमे जलविद्युत् कम्पनीको मोडेलमा सात वर्षअघि सिन्धुपाल्चोकमा सुरु भएको उक्त आयोजनाका लागि आठ अर्बभन्दा बढी खर्च भइसकेको छ । आयोजनाको संरचना निर्माणका क्रममा रड, सिमेन्ट, गिट्टी, बालुवा, रसायन पदार्थलगायतका वस्तुको प्रयोग घटाएर गुणस्तर कमजोर बनाएबापत करोडौं खर्च गर्ने ठेकेदारको प्रस्तावसहितको अडियो रेकर्ड एक महिनाअघि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा बाँध निर्माणका क्रममा गुणस्तरहीन र कम परिमाण सामग्री प्रयोग गर्ने विषयमा पनि छलफल भएको छ ।

    रेकर्डअनुसार भोटेकोसी कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनीका दोभासे गोविन्द पौडेल र आयोजनाका प्राविधिकबीच भएको रकम लेनदेनसम्बन्धी कुराकानी सुन्न सकिन्छ । दोभासे पौडेलले काफ्लेलाई आफूले भनेअनुसार काम गरेमा दुई करोडसम्म उपलब्ध गराउने प्रस्ताव गरेका छन् । ठेकेदार, परामर्शदाता र काफ्लेले गरेको कुराकानीको रेकर्डमा आफूहरूको योजनामा आयोजनाका तत्कालीन प्रमुख सुनीलकुमार लामा बाधक भएको विवरण पटक–पटक बताइएको छ । लामालाई कोड भाषामा ‘हेलमेट’ नाम राखिएको छ । लामा सात वर्षदेखि आयोजनामा कार्यरत थिए । हेलमेटको अर्थ काममा बाधा पुर्‍याउने वा छेक्ने अर्थ लगाइएको छ ।

    अडियो रेकर्डमा सीईओ काफ्लेले पनि पटक–पटक हेलमेड भन्दै लामा गलत भएको बताइरहेको सुन्न सकिन्छ । तत्कालीन प्रमुख लामाले निर्माण संरचनाको गुणस्तर कमजोर भएको लिखित विवरण यसअघि पटक–पटक भोटेकोसी कम्पनीलाई दिए पनि बेवास्ता गरिएको बताउँदै आएका छन् । उनले अडियो रेकर्ड पनि ६ महिनाअघि नै सञ्चालक समितिलाई उपलब्ध गराएका थिए । तर कारबाही नभएपछि स्थानीय सरोकार समितिले सार्वजनिक गरेको हो । आयोजनाको विषयमा छानबिन गर्नुको साटो सञ्चालक समितिले तत्कालीन सीईओ काफ्ले र आयोजना प्रमुख लामालाई जागिरबाटै हटाएको छ । कारबाही स्वरूप आयोजना प्रमुखबाट हटाउने निर्णयको लिखित जानकारी तीन साताअघि नै लामालाई दिइएको छ ।

    लामाले जसले अनियमितता छानबिनको माग गर्‍यो, समितिले उसैलाई हटाउने निर्णय गरेको बताए । ‘मैले गल्ती गरेको भए छानबिन हुनुपर्छ,’ उनले भने, ‘बिनाकारण नवीकरण नगरिने निर्णय गरेकामा आफूलाई अचम्म लागेको छ ।’ लामाले कामको गुणस्तर नभएको भन्दै ठेकेदारलाई दिने भुक्तानीका सम्बन्धमा प्रश्न उठाउँदै आएका थिए । आयोजना प्रभावित क्षेत्र बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा जसले कारबाहीको माग गर्‍यो, उसैलाई हटाउनु गलत भएको बताउँछन् । ‘यो निर्णयले सञ्चालक समितिमाथि नै प्रश्न खडा भएको छ,’ उनले भने ।

    समितिले लामाको स्थानमा भोटेकोसीमै कार्यरत निर्माण सूर्यनाथ भुर्त्याललाई आयोजनाको निमित्त प्रमुख बनाएको छ । सीईओ काफ्ले र पौडेलले अडियो रेकर्डमा भुर्त्याल आफ्नो मान्छे भएको र उनलाई विश्वास गर्न मिल्ने बताएका छन् । काफ्लेलाई हटाएर सीईओमा मिश्रलाई ल्याइएको छ । उनी चिलिमेका पनि सीईओ हुन् ।

    भोटेकोसी कम्पनीका सीईओ सुभास मिश्रले आयोजनाको गुणस्तरका विषयमा छानबिन हुने बताएका छन् । छानबिनका लागि सञ्चालक समितिमा सैद्धान्तिक सहमति भइसकेको उनको भनाइ छ । ‘समितिको बैठक बस्न पाएको छैन,’ मिश्रले भने, ‘छानबिन गर्छौं ।’ सञ्चालक समितिको तीन साताअघिको बैठकमा तेस्रो पक्षबाट घटनाको छानबिन गर्नुपर्ने प्रस्तावमा छलफल भएको थियो । आयोजनाबाट छानबिन गर्दा विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै सञ्चालक तुलसीराम ढकालले यस्तो प्रस्ताव राखेका थिए । उनी चिलिमे जलविद्युत् कम्पनीबाट भोटेकोसीको सञ्चालकका रूपमा प्रतिनिधित्व गर्छन् ।

    काफ्ले–पौडेलको थप अडियो

    कान्तिपुरलाई प्राप्त पछिल्लो अडियोमा काफ्लेले ठेकेदारलाई भनेका छन्, ‘गुणस्तर हेर्ने अर्को इन्जिनियर ल्याउने कुरा भएको थियो, मैले रोकिदिएँ । अब त्यो नआउने भयो ।’ आयोजना प्रमुख लामाले संरचनाको गुणस्तर हेर्ने प्राविधिक दुई जना हुँदा ‘चेक एन्ड ब्यालेन्स’ हुने प्रस्ताव गरेका थिए । काफ्लेले रेकर्डमा भनेका छन्, ‘मैले गुणस्तर हेर्ने नयाँ प्राविधिक नआउने बनाइदिएँ ।’ दोभासे पौडेलले अर्को मान्छे आए योजना मुताविक काम गर्न कठिन हुने भनेपछि काफ्लेले उक्त कुराको जानकारी गराएको रेकर्डमा छ ।

    ‘अहिले पनि आयोजनामा प्रभावकारी अनुगमन गर्ने प्राविधिक छैनन्,’ स्रोतले भन्यो, ‘जो अडियो रेकर्ड मिलेमतोमा देखिए उनीहरूले नै निर्माणको अनुगमन गरिरहेका छन् ।’ गुणस्तरको विषय उठेपछि केही महिनाअघि परामर्शदाता इन्जिनियर दिनेश भण्डारीलाई सीईओ काफ्लेले राजीनामा दिन लगाएका थिए । भण्डारीले ठेकेदार प्रतिनिधि पौडेलसँग गुणस्तर घटाउने र पैसा लिने कुराकानी गरेका थिए । स्रोत भन्छ, ‘सबैको पोल खुल्ने डरले भण्डारीलाई केही महिनाअघि राजीनामा दिन लगाइयो ।’

    लागत बढेको बढ्यै

    १२ अर्ब २८ करोड अनुमान गरिएको आयोजनाको लागत बढेर अहिले १५ अर्ब पुगेको छ । ठेकेदारले बाढीपहिरो, कोभिड, स्थानीय अवरोधलाई कारण देखाएर एक अर्बभन्दा बढी थप रकम दाबीसहितको बिल तयार गरेको आयोजनाका प्राविधिक बताउँछन् ।

    करिब साढे ६ किमि सुरुङ निर्माण पूरा भएको छ । चिलिमेको ३७, कर्मचारी सञ्चयकोषको ५०, विद्युत् प्राधिकरणको १० प्रतिशत एवं सर्वसाधारणको लगानी रहेको आयोजनाको निर्माणमा तोकिएको समयभन्दा चार वर्ष ढिलाइ भइसकेको छ । स्थानीय सहभागी तीन वटा कम्पनीले पनि आयोजनामा १८ करोड लगानी गरिसकेका छन् । काममा ढिलाइ हुँदा लागत बर्सेनि बढिरहेको छ ।

    चिनियाँ ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले सन् २०१४ अप्रिलमा सिभिल र हाइड्रोमेकानिकलको जिम्मेवारी लिएको थियो । तर अहिलेसम्म ६० प्रतिशत मात्र काम सकिएको छ । कान्तिपुरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस