२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

अझै छोरामुखी छ समाज, गर्भपतन गराउनेको संख्यामा वृद्धि

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • पुष १६, २०७७
    चौतारा : सिन्धुपाल्चोकका एक दम्पतीले पहिलो सन्तान छोरी भएपछि दुईपटक लिङ्ग पहिचानपश्चात् गर्भपतन गराए । छोराको पर्खाइमा १६ वर्षको जन्मान्तरमा दोस्रो सन्तान पनि छोरी भयो । डाक्टरले गर्भ परीक्षणमा छोरा रहेको बताएपछि दोस्रो सन्तान जन्माएको ती दम्पतीले बताए ।

    चौतारा साँगाचोकगढी नगरपालिकाकी एक महिलालाई दोस्रो सन्तान छोरी हुँदा परिवारले मानसिक हिंसा सुरू गरेपछि सम्बन्धमा दरार सिर्जना भई घटना अदालतसम्म पुगेको छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन छ ।

    बलेफी गाउँपालिकाका एक पुरुषले पहिलो र दोस्रो श्रीमतीबाट आठ छोरी भएपछि छोरा जन्मने आशमा तेस्रो विवाह गरे । उनको दसौँ सन्तानको रूपमा छोराको जन्म भएको बताएका छन् ।

    यी घटनाले समाजमा महिला र पुरुष बीचमा जन्मदेखि नै भेदभाव रहेको प्रस्ट देखाउँछ । लैङ्गिक असमानता अन्त्यको अनेकन प्रयत्न हुँदै गर्दा छोरीको जन्मदरमा नै कमी हुनुले लिङ्ग अनुपातमा ठूलो खाडल सिर्जित भएको तथ्याङ्कले पुष्टि गरेको छ ।

    गर्भजाँच र जन्मदरको अवस्था हेर्दा राजधानी र सहरी क्षेत्रसँगको सहज पहुँचले विभेदपूर्ण गर्भपतन हुने गरेको सहज आँकलन गर्न सकिने अधिकारकर्मी तथा समाज कल्याण परिषद्की सदस्य नानीमाया थापा बताउछिन । ‘असुरक्षित गर्भपतनको समस्या जहाँको त्यहीँ छ । छोराको चाहनामा धेरै छोरीहरूको हत्या गरिएको अनेकन उदाहरण त छन् नै’ उनले भनिन् ।

    तथ्याङ्कले देखाउँछ खाडल

    राष्ट्रिय जनगणना २०६८ मा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । तर सोही जनगणनामा १४ वर्षमुनिका बालबालिकाको लिंग अनुपात विश्लेषण गर्दा बालिकाभन्दा बालकको सङ्ख्या बढी छ ।

    सिन्धुपाल्चोक जिल्लामा पछिल्लो तीन वर्ष यता जन्मिएका छोरीको तुलनामा छोराको सङ्ख्या बढी देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ८३५ छोरी जन्मिए भने ८४६ छोरा जन्मिए । त्यस्तै आ.व.०७६÷०७७ मा ८६६ छोरी र ९२१ छोरा जन्मिए भने चालु आव ०७७÷०७८ को चार महिनामा ३२९ छोरी र ३८२ छोरा जन्मिएका छन् ।

    जिल्लाको सबैभन्दा विकट मानिने जुगल गाउँपालिकामा यो वर्षको चार महिनामा २१ जना छोरी जन्मिँदा ३१ जना छोरा जन्मिएका छन् । त्यस्तै शहरी क्षेत्रको रूपमा मानिने मेलम्ची नगरपालिकामा ५३ छोरी जन्मँदा ८४ छोरा जन्मिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्ला अस्पताल चौतारामा गत आव ०७६÷०७७ मा जन्मिएका २०८ शिशुमध्ये ११२ छोरा रहेको अस्पतालले जनाएको छ । ‘पछिल्ला वर्षमा छोरी जन्माउनेभन्दा छोरा जन्माउनेको सङ्ख्या बढी देखिन्छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले भने, ‘पाँच हजार गर्भवतीले गर्भ जाँच गराए पनि सुत्केरी हुन पचास प्रतिशत मात्र आएका छन् ।’

    तिवारीका अनुसार मातृ तथा बाल मृत्युदर न्यून हुँदा पनि गर्भ जाँच गराएकामध्ये आधा मात्र सुत्केरी हुन आउनु र छोराको सङ्ख्या बढी हुँदा जन्मदरको समस्या चित्रित गरेको छ ।

    गर्भपतनमा वृद्धि

    गर्भपतन प्रजनन् अधिकारको विषय हो । हाडनाता करणी, आमा र शिशुको स्वास्थ्य अवस्था असामान्य रहेकोबाहेक अनिच्छित गर्भ १२ हप्तासम्मको पतन गर्न सकिने कानुनी व्यवस्था छ । तर, भ्रुणको लिंग पहिचान गर्न खोज्ने दम्पती निकै रहेको जिल्ला अस्पतालका डाक्टर अमित प्रजापति बताउछन् ।

    ‘छोराकै पर्खाइमा आठौँ पटक गर्भवती भई जाँच गराउन आएकादेखि पहिलोपटक गर्भजाँचमा आएकासम्मले पनि लिङ्ग पहिचानबारे जानकारी खोज्छन्’ उनले भने ।

    जिल्ला अस्पतालमा गत वर्ष ५६ र यो वर्षको पहिलो दुई महिनामा १२ जनाले गर्भपतन गराएको तथ्याङ्क छ । त्योभन्दा डरलाग्दो तथ्य त गर्भपतनपछि त्यसबाट सिर्जित समस्या लिएर आउने महिला गतवर्ष २६ र यो वर्षको पहिलो चार महिनामा छ जना छन् ।

    अस्पतालका अनुसार सुरक्षित र असुरक्षित दुवै खाले गर्भपतनपछि भएका समस्या भोगेका बिरामी आउँछन् । विभिन्न समयमा गराइएका गर्भपतनपछिका समस्याको उपचार गराइरहेका बिरामी अझै पनि रहेका र कतिपयले सत्य जानकारी नगराएको पाइएको अस्पतालले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस