२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

तातोपानी नाका खुल्यो तर, अझै छैन व्यापारिक चहलपहल

  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • पुष १४, २०७७

    चौतारा : नेपाल र चिनबीचको प्रमुख व्यापारिक तातोपानी नाका लामो समयपछि खुलेपनि व्यापारिक गतिविधि नभएपछि सुनसान जस्तैः बनेको छ । कोरोना संक्रमण फैलने डरले एकतर्फी आयात मात्रै खुलाइएको तातोपानी नाकामा पर्याप्त मालवाहक कन्टेनर नभित्रिँदा यो क्षेत्र खण्डहरजस्तै देखिएको हो ।

    तातोपानी नाकाबाट आयात मात्रैको सर्तमा खुलेपनि गतिविधि शुन्य जस्तै रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए। सर्वसाधारणका लागि नाका नखुलाइएपछि तातोपानीमा गतिनिधि नबढेको उनले बताए।

    झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनर, होटल व्यवसायी भूकम्पअघि झैं व्यापारिक रूपमा तातोपानी नाका खुल्ने आशमा बसिरहेको उनको भनाई छ।

    नाका खुल्ने र व्यापार हुने आशमा लिपिङ पुल छेउमा होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश छन् ।

    अहिले दैनिक मुस्किलले पाँच वटा कन्टेनर मात्र भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। गत वर्ष दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रने गरेका उनले जनाए।

    कोरोना माहामारीअघि नाकाबाट बजारमा माग हुने रेडिमेड सामग्री भित्रिँदा अघिल्लो वर्षको कात्तिकमा मात्रै २८ करोड राजस्व उठेको उनको भनाइ छ ।

    कोरोना कालअघि नाका खुलाइँदा नेपालबाट मुडा, खाद्यान्न, गलैंचा, ह्रयान्डिक्राफ्टलगायत झन्डै १ सय ८२ प्रकारका सामग्री चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो ।

    चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक, गार्मेन्ट्स, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक कबोल भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउछन्।

    तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय मजदुर, व्यवसायी र कन्टेनर चालक आन्दोलित भएका छन् । शनिबार पनि नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र भोटेकोसी क्षेत्रका स्थानीयले तातोपानीदेखि लिपिङक्षेत्रसम्म आन्दोलन गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस