सिद्धान्त र व्यवहार दुबैमा उतिकै निपुर्ण हुनु एउटा पूर्ण मानिसमा हुने विशेषता हो । औपचारिक शिक्षामा मास्टर्स गरेका युवराज दुलाल शरद एक विशिष्ट योजनाकार र सैन्य क्षेत्रका विद् हुन् । उनी सिद्धान्त र व्यवहारलाई राम्ररी प्रयोग गर्ने युवा नेताको रुपमा माओवादी केन्द्र र जिल्लाभित्र परिचित छन् ।
राजनीतिलाई सही योजनामा परिचालन गर्नसक्ने कुशल नेता दुलाल समसामयिक राजनीतिक रंगमञ्चका अब्बल खेलाडी हुन् । उनको कौशलताको चर्चा अहिले जिल्लाभर हुनेगरेको छ । १० मंसिरमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा चुनावले यस्तै प्रतिभावान् युवालाई निर्वाचित गरोस् भन्ने चाहना जिल्लावासीको छ । दुलालले प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत १ नं. प्रदेशमा माओवादी केन्द्रका तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चुनाव आउन करिब एक महिना २० दिन बाँकी रहँदा चुनावी माहोलको प्रारम्भमै शालीन र युवावर्गको ढुकढुकी लोकप्रिय नेता दुलालसँग रामकृष्ण थापाले कुराकानी :
दसैं कसरी मनाउनुभयो ?
जनताको घरमा गएँ । भेटघाट गरेँ । विभिन्न ठाउँमा भएका शुभकामना आदानप्रदान कार्यक्रममा भाग लिएँ । आफ्नो परिवार र घरमा समय दिन सकिएन ।
तपाइँले चुनाव लड्दै गरेको प्रतिनिधिसभा २ को प्रदेश नं. १ को जनसंख्या र भौगोलिक सिमांकनबारे स्पष्ट पारिदिनुहुन्छ कि ?
प्रतिनिधिसभा २ को प्रदेशसभा १ मा जनसंख्या २०६८ को गणनाअनुसार यहाँ रहेका वडाहरुको संख्या जोड्दा ७३,०१८ रहेको देखिन्छ । पुराना १७ वटा गाविस रहेको यसमा हाल चौतारा साँगाचोकगढी नगरपालिकाको १,५,६,७,८,११,१२,१३ र १४ नं. वडा, इन्द्रावती गाउपालिकाको १२ वटै वडा र मेलम्ची नगरपालिकाको ९,१० र १३ नं. वडा गरि २४ वटा वडा यस प्रदेशमा रहेको छ ।
माओवादी केन्द्रभित्र पनि तपाइँ आशालाग्दो युवा नेतृत्व हुनुहुन्छ । टिकट लिन कत्तिको आन्तरिक संघर्ष गर्नुपर्यो ?
सिन्धुपाल्चोकमा माओवादी केन्द्रमा नेताहरु धेरै नै हुनुहुन्छ । त्यसमाथि पनि चौतारा सांगाचोकगढी नगरपालिकामा धेरै नै हुनुहुन्छ । त्यसकारण आकांक्षी कमरेडहरु त धेरै हुनुहुन्थ्यो । तर, यसपाली मेरो पक्षमा सर्वसहमति नै भएकोले खासै संघर्ष गर्नु परेन ।
तपाइँ सैन्यविद् पनि हुनुहुन्छ । सैन्य क्षेत्र र राजनीतिको अन्तर्संम्वन्ध कस्तो हुन्छ ?
अहिलेको राज्य कानूनी राज्य हो । जुन निश्चित जनसंख्या र भूगोलमा फैलिएको हुन्छ । आफ्नै भूगोल र जनताको रक्षा र कानुनको रक्षा गर्नु सेनाको कर्तव्य हो । राजनीतिको उदेश्य राज्यसत्ता सञ्चालन गर्नु हो । राज्यसत्ताको मेरुदण्ड सेना हो । सैन्य क्षेत्र भन्नाले सामान्यतया सैनिक परिचालन र राष्ट्रिय सुरक्षा भन्ने बुझिन्छ । अतः एक सफल राज्यको लागि बलियो सैनिक संगठन र कुशल राजनीतिज्ञ चाहिन्छ । सैन्य क्षेत्रलाई नवुझ्ने राजनीतिज्ञ र राजनीति नबुझ्ने सेना भयो भने देशको सुरक्षा नै धरापमा पर्नसक्छ । तसर्थ, सैन्य क्षेत्र र राजनीति बीच कुनै पनि राष्ट्रको सुरक्षा र सञ्चालनको महत्वपूर्ण सम्बन्ध रहेको हुन्छ ।
तपाइँको निर्वाचन क्षेत्र प्रदेश नं. १ मा माओवादी केन्द्रको पछिल्लो अवस्था कस्तो छ ?
यस प्रदेशमा माओवादी केन्द्रको अवस्था धेरै बलियो छ । यो संगठनको बलियो आधार भएको क्षेत्र हो । त्यसमाथि अहिले चुनावी अभियान सामान्य रुपमा सञ्चालन गर्दै गर्दा धेरै जनताहरुको आकर्षण र प्रवेश पार्टीमा बढ्दै गएको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका धेरै कार्यकर्ताको नाम मतदाता नामावलीमा छुटेको थियो । अहिले थपिएको मतदातामा समेत माओवादीको अत्याधिक संख्या रहेको छ । समग्रमा भन्दा यस प्रदेशमा माओवादी केन्द्रको अवस्था विजयोन्मुख छ ।
तपाइँसँग प्रतिस्पर्धा गर्न धेरै पटक चुनाव लडेका र जनताले पटकपटक भोट हालेका नेता पनि आउनसक्ने देखिन्छ । चुनावी छिनाझपटी कस्तो हुने अड्कल गर्नुुभएको छ ?
मेरो लागि यी सबै कुरा सामान्य लाग्छ । मलाई समस्या नभएको ठाउँमा त काम गर्नै मन लाग्दैन । म सधैं चुनौतीहरुलाई रुचाउने गर्दछु र त्यसलाई गम्भीरतापूर्वक आत्मसात गर्दछु । म अनुभवको महत्व बुझ्दछु । तर, अनुभववादमा विश्वास गर्दिन । मजस्तो युवाले चुनौती नभएको ठाउँमा प्रतिस्पर्धा गर्न पनि सुहाउँदैन नि !
जनताबाट पहिला ‘टेष्टेड’ नभएकोले यसलाई तपाइँले चुनौती वा अवसर कुन बढी रुपमा लिनुभएको छ ?
अवसर भन्ने कुरासँग त म कहिल्यै सहमत छैन । यो त मेरो लागि सकारात्मक चुनौती हो । तर, म औपचारिक जनप्रतिनिधि नभएता पनि जनताको दुःखसुखको साथी हुँ । र, यस क्षेत्रको विकासमा योगदान गरेको व्यक्ति हो भन्ने कुरा मलाई चिन्ने जनताहरुलाई राम्ररी थाहा छ ।
पार्टी अध्यक्ष प्रचण्डको ‘किचन क्याबिनेट’ को मान्छे भनेर तपाइँलाई चिनिँदो रहेछ, सत्य हो त ?
खै ? म त्यसो भन्न रुचाउँदिन । म अध्यक्ष प्रचण्डलगायत पार्टीका सबै शीर्ष नेताहरुसँग नजिक रहेर काम गरेको व्यक्ति हुँ । सुरक्षाजस्तो संवेदनशील विषयमा नेतृत्वलाई विश्वास दिलाएर प्रचण्ड, बाबुराम, बादल, बैद्य, नारायणकाजीलगायत सबै नेताको सुरक्षाको चाँजोपाजो ५ वर्षसम्म प्रचण्डसँगै रहेर मिलाएको हुँ ।
भनेपछि तपाइँले जित्दा यो प्रदेशको भविष्य प्रचण्डसँगै जोडिनेछ ?
प्रचण्डसँग त नेपालको भविष्य जोडिने हो । म प्रचण्डसँग रहेर मैले आफ्नै बलियो सम्बन्ध सबैतिर बनाएको छु । सिंहदरबारलाई आफ्नो सहज पहुँच बनाएको छु । विकासको लागि बजेट चाहिन्छ । त्यसको चाबी कहाँ छ भन्ने मैले देखेको छु । कुरो यति मात्र हो । म यो प्रदेशमा यहाँका जनताको मन फुरुङ्ग पारेर विकास योजना अगाडि बढाउनसक्छु ।
पहिला कहिले पार्टीको माथिल्लो निकाय त कहिले जिल्लाबाहिर रहेर राजनीति गर्नुभयो । गत पाँच वर्षदेखि तपाइँ यही जिल्लामा पूरै समय दिएर काम गरिरहनुभएको छ । अब भन्नुस् माओवादीको प्रभाव यो जिल्लामा कति हो ?
सिन्धुपाल्चोकका जनतामा माओवादीप्रति अगाध आस्था र विश्वास रहेको पाएको छु । खासगरि माओवादीका हामी युवा पुस्तामा जिल्लाको ठूलो आशा र अपेक्षा रहेको मैंले अनुभूति गरेको छु । पछिल्लो परिणाम केही बिग्रिएको भएतापनि यो जिल्लामा माओवादीको आधार र प्रभाव पहिलो स्थानमा छ ।
तर, स्थानीयतह चुनावले त त्यस्तो देखाएन नि ?
त्यही त स्थानीय तहको चुनावमा आन्तरिक कमजोरी र केही प्राविधिक कमजोरीले हामीले परिणाम चुकायौं ।
मंसिर १० मा हुने निर्वाचनमा तपाइँहरु विपक्षीलाई चक्मा दिँदै विजयी हुनुहुनेछ ?
हो । चुनावी रणनीति विल्कुल भिन्न हुनेछ । मलाई लाग्छ, अरुले हाम्रो रणनीति बुझ्न खोज्दै गर्दा हामी अर्को योजनामा अघि बढिसकेका हुनेछौं ।
तपाइँले चुनाव जित्ने आधार केके हुन् ?
बलियो संगठन, सक्षम नेता कार्यकर्तासँगको टिमवर्क । विकासको भिजन र युवा नेता नै सबैलाई आकर्षित गर्ने आधारहरु हुन् ।
तपाइँ त कुशल योजनाकार भन्ने पनि सर्वत्र चर्चा छ । चुनावको विजयपछि प्रदेशलाई यस्तो बनाउँछु भन्ने ‘जनरल खाका’ बनाउनुभएको होला नि ?
बनाएको छु । हाम्रो प्रदेश क्षेत्रमा २४ वटा वडा र ७३ हजार जनसंख्या छ । यो प्रदेश भित्रका सबै सडकहरु बाह्रै महिना सवारी साधन गुड्न सक्ने, यहाँका सबै विद्यालय भवनहरु सुरक्षित र आधुनिक बनाउने, इन्द्रावती नदीलाई नियन्त्रण गरि मानवबस्ती र खेतीयोग्य जमिनको सुरक्षा गरिदिने, अन्य साना नदीहरुको नियन्त्रण, पहिरो रोकथाम, सिंचाइ र खानेपानीको व्यवस्था, जिल्ला अस्पतालसहित सबै स्वास्थ्य चौकीहरुलाई व्यवस्थित तथा सुविधासम्पन्न र आधुनिक तरिकाले सञ्चालन गर्ने, कृषि र पशुसेवा केन्द्र सञ्चालन गर्नेलगायतका काम गर्न सके जनता धेरै खुसी हुन्थे । धेरै कुरा त जनता आफैंले गरेकै हुन्छन् । धेरै कुरा गर्नै पर्दैन, जनताको नीजि आवास पुनर्निर्माणको कार्यलाई झन्झटमुक्त गरिदिने र बाँदरलगायत बन्यजन्तुको नियन्त्रण गरि कृषकको बालीको सुरक्षामात्र गरिदिने हो भने पनि यहाँका जनताले ठूलै स्याबासी दिने मैंले बुझेको छु । चुनाव अगाडि ठूला भाषण गर्ने र पछि केही गर्न नसक्ने कुरा म गर्दिन । यी माथिका कुरा मेरो लागि गर्न सक्ने कामको सूचिमा पर्छन् । हामीले एउटा टिम नै बनाएर प्रदेशक्षेत्र विकासको मार्गचित्र बनाउन जिम्मेवारी दिइनै सकेकाछौं । धेरै काम हुनेगरि खाका बन्दैछ ।
एक्कासी एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको कुरा आयो । यो कसरी कार्यान्वयन हुन्छ ? र, यो तालमेलले सर्वसहमतिले भएको तपाइँको उम्मेदवारीमा असर गर्दैन ?
राजनीतिक स्थायित्व र सरकारको स्थायित्वको लागि हाम्रो पार्टी सधैँ तालमेलको पक्षमा नै थियो । हामीले २०६४ सालको संविधानसभाको निर्वाचनमा पनि तालमेलको लागि एमालेसँग प्रस्ताव गरेको हो । अहिले ०७४ को स्थानीय चुनावमा पनि तालमेलको लागि एमालेसँग प्रस्ताव गरेको हो । तर, एमाले तयार भएन । र, हामीले काँग्रेससँग तालमेलको प्रयास ग¥यौं । त्यो प्रभावकारी भएन । अहिले एमाले र काँग्रेस दुवैसँग तालमेलको कुरा गर्दा काँग्रेस सभापति देउवाले तालमेल गर्न सकिने निर्णय दिनसक्नु भएन र एमाले तयार भयो । त्यसकारण हाम्रो लागि तालमेल एक्कासी होइन । योजनाबद्ध हो । बरु एमालेका साथीहरुको लागि चाहिँ एक्कासी हो । दोश्रो कुरा, तालमेलपछि हाल सिफारिस भएका उम्मेदवारमध्ये ४० प्रतिशत ठाउँमा नेकपा एमाले र ६० प्रतिशत ठाउँमा नेकपा (माओवादी केन्द्र) दुवैले छोड्नैपर्ने हुन्छ । कसले कहाँ छोड्ने भन्ने केन्द्रीय कार्यदलले टुंगो लगाउँछ । सिन्धुपाल्चोकमा २ नं.प्रतिनिधिसभाको १ नं. प्रदेशसभा क्षेत्र सांगठनिक आधार क्षेत्र माओवादी केन्द्रको भएकोले हाम्रै भागमा पर्ने सम्भावना बढी छ । (सिन्धुसन्देशबाट)
प्रतिक्रिया दिनुहोस