२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पानी नहुँदा खेतैमा सुक्यो धान

Thumbnail
  • २०७४ आश्विन १९, बिहिबार मा प्रकाशित ७ साल अघि
  • कृषकको चिन्ता– के खाएर बाँच्ने ?

    खबरज्योति

    १९ असोज २०७४, सिन्धुपाल्चोक ।

    इन्द्रावती गाउँपालिका– ५ स्थित इन्द्रावती बगरमा लगाईएको धानबाली पर्याप्त पानी नहुँदा खेतमानै सुक्ने अवस्थामा पुगेको छ ।

    इन्द्रावती बगर भासिदै गएकोले सो क्षेत्रका अधिकांश धानबाली खेतमानै सुक्ने अवस्थामा पुगेको हो । क्रसरहरुले हिउँदको समयमा बगरमा नदीजन्य पदार्थको उत्खनन गरेपछि नदी भासिदै गएको स्थानीय कृषकहरुको गुनासो छ । हिउँदको समयमा क्रसरले कुलो बनाउने गरेको भएता पनि वर्खा याममा कुलो नबनाउनाले यस्ता नियति भोग्नुपरेको कृषकहरुको भनाई छ ।

    ‘अब हामी के खाएर बाँच्ने ?’ स्थानीय कृषक चिरन्जिवी लुईटेलले भने– ‘वर्षा याममा जिनोतिनो गरी खेत रोपियो, अहिले आएर सबै धान खेतमानै सुक्यो । अब के गर्ने ?’ धान खेतमानै सुकेपछि बगरको खेतीले परिवार पाल्नुपर्ने कृषकहरुलाई निक्कै समस्या भएको लुईंटेलको भनाई छ ।

    त्यस्तै अर्का कृषक हर्कबहादुर माझी भन्छन्– ‘ज्याला मजदुरी गर्न जाउँ भने कहाँ जाउँ, भएको खेती पनि सुक्न थालेपछि अब परिवार कसरी पाल्नु ?’

    इन्द्रावती बगरमा रहेको खेतीयोग्य जमिनलाई पानीको मात्रा पर्याप्त हुने हो भने त्यहाँका कृषकहरुलाई रोजीरोटीको लागि अन्यत्र कहिँ जान नपर्ने विज्ञहरु बताउँछन् । तर वर्खा याममा समेत खोला भासिएर पानीको पर्याप्त सुविधा नहुँदा स्थानीय कृषकहरु मर्कामा परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस