मंसिर २४, २०७७
चौतारा । सिन्धुपाल्चोक जिल्लाभरमा सञ्चालित ३२ क्रसर उद्योगहरु जिल्ला प्रशासनले बन्द गराएको छ । मुलुकभर मापदण्ड मिचेर सञ्चालित क्रसर उद्योगहरु बन्द गर्ने सरकारको निर्देशनसँगै जिल्ला प्रशासन कार्यालयले अनुगमन पश्चात् २४ क्रसर र आठ नदीजन्य सामाग्री उद्योग बन्द गराएको हो ।
कात्तिक २५ को सरकारको निर्देशनपछि मापदण्ड विपरीतका सबै उद्योग तत्काल सञ्चालन नगर्न प्रशासनले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएको समाचार गोरखापत्र दैनिकले लेखेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती र सुनकोशी बगरमा ३२ वटा रोडा, गिट्टी र बालुवा उद्योग सञ्चालनमा छन् ।
नदीजन्य पदार्थ उत्खनन् कार्यविधिमा उल्लेखित मापदण्ड विपरीतका काममा संग्लग्न रहेको उद्योगलाई प्रशासन कार्यालयको अनुगमन समितिको प्रतिवेदनका आधारमा रोक लगाइएको जनाएको छ ।
‘केही उद्योगहरु मापदण्ड विपरीत छन् । कार्यविधि अनुसार उद्योग सञ्चालन गर्दा वनक्षेत्र र नदीक्षेत्रको दूरीको समेत ख्याल नगरिएको पाइएको छ’ अनुगमनका एक प्रतिनिधिले जानकारी दिए ।
वनक्षेत्रबाट कम्तिमा एक किलोमिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ । कार्यविधिमा नदी किनारबाट कम्तीमा पाँच सय मिटरको दूरीमा उद्योग सञ्चालन गर्न पाउने प्रावधान पनि छ ।
क्रसरले बालुवा ढुंगा उत्खनन्का क्रममा नदीको वहाव परिवर्तन गर्ने, नदीको सतह गहि¥याएकाले बस्ती तथा खेतीयोग्य जमिनमा वर्षेनी क्षति पुगेको जिल्लाका नदी आसपासका स्थानीयले आवाज उठाउँदै आएका छन् । इन्द्रावती नदी किनारका अधिकांश खैती योग्य जमिन क्रसर उद्योगले बगरमा परिणत गरेको आरोप बाँडेगाउँका किसान रुद्रप्रसाद आचार्यको छ ।
जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिले २०७४ भदौ ३० मा कार्यविधि निर्माण गरी निश्चित मापदण्डमा रहेर उत्खनन् अनुमति दिने व्यवस्था गराएको थियो । जिल्लामा संञ्चालित उद्योगले कुनै न कुनै रुपमा मापदण्ड मिच्ने गरेको अनुगमन समितिले जनाएको छ । ‘बगर दोहनमा मनलाग्दी गरेका छन्’ बलेफीका एक स्थानीयले बताए ।
जिल्लाले तय गरेको मापदण्डसँगै उद्योगहरुले सरकारले जारी गरेको ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ समेत पालना गरेका छैनन् । उद्योग अनुगमनका लागि जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा रहेको समितिले निरन्तर अनुगमन गरेको बताउदै आएको छ । ‘
प्रतिक्रिया दिनुहोस