मंसिर २०, २०७७
मेलम्ची । मेलम्ची नगरपालिका १०, शिखरपुरका ७ जना कृषकहरुले भैँसी पालन व्यावसायबाट मनग्य आम्दानी गरिरहेका छन् । ६० वटासम्म भैँसी पालेका उनीहरुसँग अहिले ४७ वटा लहिनो भैँसी रहेको छ ।
इन्द्रावती पशुपालन तथा कृषि फर्म मार्फत भैँसी पालन गर्न थालेका उनीहरुको फर्मबाट अहिले दैनिक तीन देखी चार सय लिटर दुध उत्पादन हुन्छ । उनीहरुले मेलम्ची बजारमा सञ्चालनमा रहेको आफ्नै चिस्यान केन्द्र मार्फत आफ्नो उत्पादन बजार लगिरहेका छन् ।
७ जना कृषक मिलेर तीन करोड रुपैंया लगानीमा फर्म शुरु गरिएको सञ्चालक मध्येका एक सहदेव नेपालले बताए । सहदेव वैदेशिक रोजगारीको लागि तीन वर्ष खाडी मुलुकमा बसेर आएका युवा हुन् । विदेशबाट फर्कीएपछि के गर्ने भन्ने होला भन्ने सोचमा रहेका उनी मामा, दाइ तथा दिदीहरुको सल्लाहमा कृषि पेशामा लागेको बताउछन् । उनी आफै फर्मको कामदार समेत हुन् ।
फर्मबाट अहिले दैनिक उत्पादन भएको दुधबाट २८ हजार आम्दानी भइरहेको छ । सबै खर्च कटाएर मासिक पाँच देखि ५ लाख रुपैंया बचत हुने गरेको फर्ममा कामदारकै रुपमा समेत काम गरिरहेकी अर्की सञ्चालीका उषा दुलालले बताइन् ।
फर्ममा अहिले ९ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । दुध बजार लानेदेखि चिस्यान केन्द्र समेतको हिसाब गर्दा अप्रत्यक्ष रोजगारी पनि त्यति नै संख्यामा रहेका छन् । आफ्नै चिस्यान केन्द्र भएको कारण बजारको समेत समस्या नभएको र आफ्नो उत्पादनले उचित मुल्य समेत पाएको उनले बताइन् ।
फर्म सञ्चालनको लागि उनीहरुले एक सय रोपनी भन्दा धेरै जग्गा भाडामा लिएका छन् । भाडाको जग्गामा पुर्वाधार निर्माण गरिएको छ भने घाँस समेत लगाइएको छ । बस्तुको गोबर मल भने उनीहरुले नजिकैको अर्गानीक तरकारी फर्ममा बेच्ने गरेका छन् ।
फर्म सञ्चालनका लागि कृषि ज्ञान केन्द्र धुलिखेलबाट १५ लाख रुपैंया अनुदान पाएका उनीहरुलाई नगरपालिकाले भने प्राविधिक सहयोग समेत नगरेको गुनासो गर्दछन् । सरकारले कृषिमा नयाँ युवालाई आकर्षित गर्नको लागि विशेष सुविधा दिनुपर्ने अर्का सञ्चालक फणिन्द्र प्रसाद आचार्यले बताए ।
उनीहरुले सञ्चालन गरेको चिस्यान केन्द्रमा अन्य कृषक तथा कृषि समुहको समेत दुध संकलन गर्ने गरिएको छ । चिस्यान केन्द्रमा दैनिक दुइ हजार लिटरको हाराहारीमा दुध संकलन हुने गरेको चिस्यान केन्द्रका सञ्चालक भिम दुलालले बताए । अन्य डेरीमा दुध विक्रि गर्दा भन्दा आफ्नै चिस्यान केन्द्रमा संकलन गर्दा अरुलाई दिनुपर्ने नाफा समेत आफैलाई बस्ने गरेको उनले बताए ।
पछिल्लो समय कागजि रुपमा मात्र फर्म खडा गरि अनुदान लिने काम प्रसस्त देख्न सकिन्छ । तर, मेलम्चीका यि कृषकले स्थानिय सरकारले सामान्य प्राविधिक सहयोग समेत नगर्दा किसानहरु मंहगो मुल्यमा निजी प्राविधिक खोज्न वाध्य छन् ।
स्थानीय सरकारले यस्ता किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोगका साथै विभिन्न अनुदानका प्याकेज समेत सञ्चालन गर्नमा स्थानीय सरकारले पनि चासो नदेखाएको उनीहरुको गुनासो छ।
प्रतिक्रिया दिनुहोस