मंसिर २०, २०७७
चौतारा । सिन्धुपाल्चोक जिल्लाको एक रमणिय पर्यटकीय स्थल हो हेलम्बु । ह्योल्मो समुदायको सुन्दर बस्ती हेलम्बुलाई लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको छ । लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ ।
हेलम्बुमा बन्दै गरेको पर्यटन मार्ग (ग्रेड ट्रेल), लामो र अग्लो झोलुंगे पुल त्यहाँको अर्को आकर्षण थपिदैछन्। यहाँका ह्योल्मो समुदाय जति मनकारी र सहृदयी छन, उति नै रमणीय छन् यहाँका गाउँ। प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ ।
यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक–सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ। शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झण्डा अध्ययनका नयाँनयाँ विषय हुन् । हेलम्बूका स्याउ चर्चित मात्र हैनन्, सुन्दरीका गालाको तारीफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन् ।
चिसो हावापानी पाइने तथा प्राकृतिक रूपमा निकै सुन्दर हेलम्बुको सांस्कृतिक रूपमा पनि आफ्नै विशेषता छ । हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ । हेलम्बुको तिम्बु, शेर्माथान, ह्याङलुङ्ग, तार्केघ्याङ, मेलम्चीघ्याङ पर्यटकीय आकर्षण बोकेका स्थान हुन् ।
पुस, माघको समय हिमाल खुल्ने मौसम हो । हेलम्बु गाउँपालिकालाई हिमालले घेरेको छ । यतिबेला टलक्क टल्केका हिमालले हेलम्बुको सौन्दर्यमा अझ निख्खरता ल्याएको छ । जुगल, थाङ्गालछ्यो, दार्जेलाक्पा, आमायाङ्ग्री लगायत दर्जन हिमाल नजिकै देखिन्छन्।
अन्यत्र हिमाल हेर्न डाँडाकाँडै चढ्नु पर्छ। तर यहाँ फेदीबाटसमेत हिमालको दृश्यपान गर्न सकिन्छ। उचाइबाट त हिमाल झन–झन् नजिक बनेर आँखामै टाँसिन खोज्छन् ।
(तस्बिर : सामाजिक सञ्जालबाट)
प्रतिक्रिया दिनुहोस