मंसिर १४, २०७७
चौतारा । सिन्धुपाल्चोक जिल्लालाई विपद् तथा संकटग्रस्त जिल्ला घोषणा भएको तीन महिनापछि भौगर्विक अध्ययन टोलीले अध्ययन सुरु गरेको छ। निरन्तर प्राकृतिक बिपत्ति भोगेपछि सरकारले सिन्धुपाल्चोकमा भौगर्विक अध्ययन थालेको हो।
जुगल गाउँपालिकामा साउन ३० गते ३९ जनाको ज्यान जाने गरी गएको पहिरो पीडितका जमिन र अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिका–१ बाँसखर्कबाट अध्ययन सुरु भएको शहरी बिकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले बताए ।
शुक्रबार जुगल गाउँपालिकाको लिदीमा अध्ययनकोलागि गएको टोलीले शनिबारबाट अध्ययन सुरु गरेको उनले बताए । पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले काम शुरु गरेको उनले जनाए।
सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्क लगायतका स्थानहरुको अध्ययन गरिने तयारी गरिरहेका छ ।
भौगोलिक अध्ययन सुरुवात पूर्व जिल्ला समन्वय समितिमा जानकारी गराउँदै जिल्लाको पहिरोग्रस्त क्षेत्र जुगल गाउँपालिका सँगै बाह्रविसे नगरपालिकाको खागदल, जम्बु र नागपुजे, भोटेकोशी गाउँपालिकाको कतिपय स्थान र मेलम्ची नगरक्षेत्रको अध्ययन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस