२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

तेम्बाथानबासी भन्छन् : कर्णालीले फड्को मारिसक्यो, हामी जहाको त्यहीँ भयौँ

  • २०७७ मंसिर १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मंसिर १२, २०७७

    चौतारा । तेम्बाथान जिल्लाको सबभन्दा विकटमा पर्छ । जुगल गाउँपालिकाको ३ नम्बर वडामा पर्ने यो गाउँलाई अहिलेसम्म मोटरबाटोले छुन सकेको छैन । सिंगो गाउँले विकासको अनुभूति गर्न पाएको छैन । नेशम खोला छेउसम्म मोटरबाटो पुगेको छ । त्यहाँबाट गाउँ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । बाटो सहज छैन ।

    भीर पहरो समात्दै हिँड्नुपर्ने बाध्यता छ । न गाउँमा स्वास्थ्य चौकी छ, न कक्षा १० सम्म पढ्ने विद्यालय नै छ । बिजुली छैन । फोन लाग्दैन । फोन गर्न जता नेटवर्क आउँछ, त्यतै दौडिनुपर्ने बाध्यता छ । ‘पछि परेको भनिएको कर्णालीले विकासमा कति फड्को मारिसक्यो,’ गाउँका अगुवा कामी शेर्पाले भने, ‘हाम्रो गाउँ पहिलाजस्तो थियो, अहिले पनि उस्तै छ ।’ सबैको एउटै माग सडकको छ ।

    ‘अरु केही चाहिएन,’ उनले भने, ‘पहिला सडक भइदिए धेरै समस्याको समाधान हुने थियो ।’ अहिले पनि पिठ्यँुमा बोकेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । उपचारका लागि बिरामीलाई बोकेर स्वास्थ्यचौकी पुर्‍याउनुपर्छ । गम्भीर बिरामीलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लग्नुको विकल्प छैन ।

    अप्ठ्यारो र भीरको बाटो भएकाले बालबालिका हिँड्डुल गर्न डराउँछन् । गाउँमा १ सय ६० घर धुरीको बसोबास छ । शेर्पा समुदायको बाक्लो बसोबास छ । कसैले बाख्रा पालेका छन्, कसैले चौंरी पालेका छन् । बारीमा फल्ने मकै र कोदोले वर्षदिन धान्दैन । चामल किनेर खानुको विकल्प नभएको स्थानीय बताउँछन् ।

    ‘सडकको मात्र समस्या छैन,’ स्थानीय जुगल हिमाल नेपेमासल तेम्बाथान ग्रामीण विकास मञ्चका सचिव मिङमार शेर्पाले भने, ‘गाउँ अन्धकार छ, स्वास्थ्य चौकी नजिक नहुँदा अकालमा ज्यान फाल्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार स्वास्थ्यचौकी नजिक नहुँदा बालबालिका विभिन्न रोगविरुद्ध लगाउनुपर्ने सुईबाट वञ्चित छन् । पोलियो थोपा खान पाएका छैनन् ।

    सुई लगाउन र पोलियो थोपा खुवाउनका लागि एक दिन पैदल हिँडेर गुम्बाथान पुग्नुपर्छ । गुम्बाथानबाट भिरको बाटो हुँदै तेम्बाथान पुग्नु पर्ने बाध्यता छ । त्यही बाटो खाद्यान्न बोकेर गाउँले तेम्बाथान पुग्छन् । भीर छिचोल्न झन्डै आधा घण्टा लाग्छ । भीरबाट लड्ने, ज्यानै जाने खतरा रहेको स्थानीय लामा कान्छा लामाले बताए ।

    ‘बिजुलीको तार पोल हेरेर बसेको वर्ष दिन नाघिसक्यो,’ गुम्बाथानका स्थानीय मिङमार लामाले भने, ‘समस्या धेरै छन्, समाधान गर्ने मान्छे कोही भएनन् ।’ उनका अनुसार तेम्बाथान, गुम्बाथान, क्याङसिङलगायत स्थानका गाउँलेले विकासको अनुभूति गर्न पाएका छैनन् ।

    समस्यै समस्याले गाँजिएका स्थानीयले पहिलो पटक तेम्बाथान पुगेका प्रदेश सांसद सरेश नेपाललाई विकासको अनुभूति दिलाइदिन माग गरे । जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठसहित पुगेको टोलीले गाउँलेका सबै समस्या सुने । गाउँको अवस्था प्रत्यक्ष देखे ।

    प्रदेश सांसद सरेश नेपालले गाउँ विकटमा रहेको र विकासका पूर्वाधार पुगी नसकेको आफूले प्रत्यक्ष देखेको बताए । ‘गाउँमा जति पनि समस्या छन, सबै प्रत्यक्ष देख्यौं,’ उनले भने, ‘स्थानीयका गुनासा पनि सुन्यौं, गाउँमा विकास पुग्न सकेको छैन, विकासका लागि हाम्रो सहयोग रहनेछ ।’

    सांसद नेपाल र प्रमुख श्रेष्ठलाई स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, बिजुलीलगायत सुविधा उपयोग गर्नबाट आफूहरू वञ्चित रहेको गुनासो गरे । पांगारपुबाट स्वास्थ्यकर्मी गुम्बाथान आउँछन् । गुम्बाथानमा पनि स्वास्थ्यचौकी छैन । गुम्बाथानबाट पांगारपु पुग्न झन्डै चार घण्टा लाग्छ ।

    तेम्बाथानबाट गुम्बाथान पुग्न ५ घण्टाभन्दा बढी लाग्छ । ‘गुम्बाथानबाट समिति बनाएर प्राविधिक पठाए पनि कहाँबाट सडक लैजाने भन्ने विवादले काम रोकिएको छ,’ गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले भने, ‘उनले क्याङसिङ, गुम्बाबाट वा पल्लोडाँडा हुँदै अम्बाखर्क वा आयोजनाबाट तेम्बाथानसम्म सडक जोड्ने भन्ने कुरामा विवाद आएपछि काम हुन सकेको छैन ।’

    उनले अघिल्लो वर्ष गाउँपालिकाले जिल्ला समन्वय समितिको समन्वयमा ७ सय वटा विद्युत् पोल जुगल गाउँपालिकाभर बाँडिएको बताए । ‘तार टाँगिँदै छ , चाँडै मिटर र ट्रान्समिटर राखेर बिजुली पुर्‍याउने काम गर्दै छौ,’ उनले भने । कान्तिपूरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस