मंसिर ५, २०७७
चौताराः चीनसँग जोडिएको व्यापारिक नाका तातोपानी विनाशकारी भूकम्पको चार वर्षपछि ०७६ जेठमा खुल्यो । नेपाल–चीन दुवै सरकारको निरन्तर कूटनीतिक पहलकदमीले नाका खुलेको थियो । तर, आयात नियमित रूपमा हुन सकेन । नाका खुलेयता सानो परिमाणमा आयात भयो । हालसम्म निर्यात ठप्प नै छ । कोरोना भाइरसको महामारीबीच हालसम्म दैनिक चार कन्टेनर सामान खासाबाट तातोपानी भित्रिने गर्छ ।
अब तातोपानी नाकाबाट व्यापार विस्तार हुने भएको छ । खासा–काठमाडौं व्यापार गर्ने नेपाली व्यापारीको मागप्रति ध्यान दिँदै न्यालम काउन्टीको जाङ्मु प्रशासनले तिब्बतको वाणिज्य मन्त्रालयलाई पठाएको पत्रलाई त्यहाँका उच्च सरकारी अधिकारीले सकारात्मक भनेको खबर नयाँ पत्रिकालाई प्राप्त भएको छ ।
जाङ्मु प्रशासनको भनाइ उद्धृत गर्दै सिल्क ट्रान्सपोर्टले खासा–काठमाडौं व्यापार विस्तार हुन लागेको बताएको हो । मंसिर दोस्रो सातादेखि खासाबाट दैनिक २० चिनियाँ कन्टेनर सामान नेपाल–चीन सीमारेखा मितेरीपुलसम्म आउने तयारी भएको छ । चिनियाँ २० कन्टेनरबराबर नेपाली ४० कन्टेनर सामान हुन्छ । कोरोना भाइरस महामारीबाट बच्न आवश्यक प्रोटोकल पालना गरेर सामग्री आयात हुन लागेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।
‘हाल दैनिक तीन कन्टेनर सामान आयात भइरहेको छ,’ उनले भने, ‘चिनियाँहरू आयात बढाउन लागेको खबर पाएको छु ।’ तर, कहिलेदेखि आयात बढ्छ, त्योचाहिँ औपचारिक रूपमा नआएको उनले प्रस्ट्याए ।
खासाबाट आएका चिनियाँ कन्टेनर मितेरीपुलमा रोकिएपछि नेपाली कन्टेनरको टाउको जडान गरेर ३० टन सामग्री बोकेको ४० फुटे कन्टेनर लार्चा सुक्खा बन्दरगाहसम्म ल्याउने तयारी भएको छ । मितेरीपुलसम्म आएका चिनियाँ ड्राइभर कन्टेनरको अगाडिको टाउको फुकालेर अर्को कन्टेनर लिन खासातिर फर्कन्छन् । चिनियाँ कन्टेनरलाई नेपाली ड्राइभरले लार्चाबाट मितेरीपुल पुगेको कन्टेनरको टाउको जडान गरेर सुक्खा बन्दरगाहसम्म ल्याउनेछन् ।
कोरोना महामारी नियन्त्रणमा आएपछि ४० फुटे चिनियाँ कन्टेनर सीधै काठमाडौं भित्र्याउने लक्ष्य रहेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले बताए । ‘नेपाली कन्टेनर सिगात्से सहर पुगेर सामग्री ढुवानी गर्ने वातावरण निर्माण गर्दै छौँ,’ उनले भने, ‘तर, कोरोना महमारीअघि यो सम्भव छैन ।’ नयाँपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस