२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाँदर तर्साउन बाघको तस्बिर !

  • २०७७ कार्तिक १५, शनिबार मा प्रकाशित ४ साल अघि
  • कार्तिक १५, २०७७
    चौताराः हरिया रूखमा लटरम्म सुन्तला र रुद्राक्ष फलिरहेको छ । फराकिलो बगैंचालाई बेरबार गरिएको छ । बगैंचाको चारछेउ चारवटा ठूला प्लेकार्ड र फ्लेक्समा आक्रामक बाघको फोटो राखिएको छ ।

    मेलम्ची नगरपालिका–५ सिन्धुकोट पुराना गाउँस्थित चिरञ्जीवी सिग्देलको बगैंचामा पुग्ने जोकोही जिज्ञासा राख्छन्– बगैंचामा बाघको तस्बिर किन ? ‘बाँदर धपाउन यसरी चारैतिर बाघको तस्बिर राखें, त्यसपछि बादर तर्सिएर आउन छाड्यो,’ सिग्देल सोध्नेलाई यही वाक्य दोहोर्‍याइरहन्छन् ।

    बाली होस् या फलफूल, तरकारी या अन्नपात, कहिल्यै घरमा पूरा भित्रिन पाउँदैनथ्यो । दर्जनौंको संख्यामा बाँदरको हूल पसेर बाली मासिदिन्थे, खाइदिन्थे, नउम्रिँदै उखेलेर फालिदिन्थे । हुँदाहुँदा बाँदरले स्थानीयलाई समेत सास्ती दिन थालेपछि सिन्धुकोटपारि भोटेचौरका कृषकले गत वर्ष भएका सबै रूख मासिदिएको समाचार कान्तिपुर दैनिकले लेखेको छ।

    बाघ आएको बेला बाँदर आउँदैन भन्ने सुनेका सिग्देललाई बाँदरलाई लखेट्न ढुंगामुढा गर्नुभन्दा मनोवैज्ञानिक त्रास उत्पन्न गर्ने जुक्ति फुर्‍यो । ‘बाघको फोटो प्रिन्ट गरेर बगैंचा वरिपरि टाँसी दिएँ ।

    बाँदरको हूल दुई पटकसम्म बगैंचा छेउसम्म आए पनि बाघको तस्बिरलाई परैबाट हेरेर फर्कियो । त्यसपछि बाँदर यहाँ आउँदै आएनन् । दौडादौड गर्नुपरेन,’ सिग्देलले भने । सात रोपनी क्षेत्रफलमा फलफूल लगाएका उनले बाँदरले बाघको तस्बिरलाई साँच्चिकै सम्झिएर नआएको हुन सक्ने अनुमान गरे ।

    मनग्गे कोदो उत्पादन हुने यस क्षेत्रमा यसअघि पनि बाँदर आतंक थियो । अहिले पनि गाउँमा बाँदरको सास्ती उस्तै छ । तर, सिग्देलको बगैंचामा भने बाघको तस्बिरका कारण बाँदरको बदमासी शून्य भएको छ । अहिले यही तरिकालाई अन्य स्थानीयले सिको गर्न थालेका छन् । सिग्देलले कोदो खेती छोडेर रुदाक्ष, नासपाती, एभोकाडो, कफी, पाउलिनओजस्ता फलफूलका बिरुवा लगाएका छन् ।

    यसअघि मेलम्ची नगरपालिकाले बाँदरबाट बाली सखाप, मानिसलाई नै आक्रमण गरेको जस्ता व्यापक गुनासो आएपछि नियन्त्रण गर्न ५ लाख रुपैयाँ बजेट छुट्याउँदै ‘बाँदर अनुसन्धान तथा मानवसँग द्वन्द्व परियोजना’ थालेको थियो । नगरका भोटेचौर, हैबुङ, थकनी, दुवाचौर, सिन्धुकोटमा बाँदरले व्यापक वितण्डा मच्चाउने गरेको छ ।

    बाँदर रोक्न निकालिएको नयाँ तरिका एकदमै प्रभावकारी देखिएपछि सबैलाई यसलाई अपनाउन आग्रह गरिएको मेलम्ची–५ का अध्यक्ष सुदर्शन लुइँटेलले बताए । ‘यसलाई कसरी अझै वैज्ञानिक बनाउने भन्नेबारे छलफल गर्दै छौं, यो एकदमै नयाँ र प्रभावकारी तरिका सावित भएको छ,’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस